सृजनाको चौतारी

सूचना

सर्वहाराको सरकार भएको उपलक्ष्यमा सुकुम्बासीहरुको महोत्सव गरौँ
लोकतन्त्रको बजारमा निमुखा अझै उस्तै भएको महोत्सव गरौँ
गरीबहरुको सरकारका पालमै हुँदा खाने नहुँदा चुपचाप सुत्नेहरुको महोत्सव गरौँ
सुखी नेपाल र समृद्ध नेपालको हल्लाबीच भोकै परेकाहरुको महोत्सव गरौँ
न्यायपूर्ण समाज निमार्ण गर्ने सरकारकै पालामा आँशु बगाउनेहरुको महोत्सव गरौँ
स्वाधिनता र जनजिविकाको वकालत गर्नेकै पालामा माटो थुतिएको महोत्सव गरौँ
आउनुहोस हामी पनि एउटा महोत्सव गरौँ
जनवादको मन्त्र जप्नेहरुकै पालामा जनजनको पिडाको महोत्सव गरौँ
सुखी नेपाली र समृद्ध नेपाल बनाउन
सुखी र खुशी भएको नाटक र नौटंकी पनि गरौँ
हाम्रा स्टलहरुमा , महङ्गी राखौँला, बेरोजगारी राखौँला
लिम्पीयाधुरा र लिपुलेक राखौँला, विचार सिद्धान्त बन्दकी राख्नेहरुका कथा राखौँला
आउनुहोस यो हाम्रो महोत्सवमा
हाम्रा दुखेका मनहरु राखौँ, भाषणका प्रलोभनहरु राखौँ
भुक्के चप्पलदेखि आलिसान महलका फोटाको प्रदर्शनी राखौँ
क्रान्ति र विद्रोहका हुँकारदेखि मालिकका शरण परेका किताब राखौँ
भन्छन् देशमा गरीब र किसानको सरकार छ, हलो र झुप्रोको आँशु पनि राखौँ
आउनुहोस एक पटक हाम्रो पनि महोत्सव राखौँ
सुखी नेपाली र समृद्ध देशको समाचार भित्र
ललितानिवास देखि निर्मला पन्त सम्मको कहानी राखौँ
सुनको कथा देखि कर्णालीमा नूनको अभावको खबर पनि राखौँ
महोत्सवलाई सफल बनाउन आ आफ्ना पिडा र दुखेसो पनि राखौँ
विचार, वर्ग र आदर्श भुलेर मस्तीको संसारमा प्रवेश गरेको फिल्म पनि राखौँ
मुक्ति र विद्रोहका सपना बाँडेर धोखा र विचार स्खलनको वृतचित्र पनि राखौँ
यो हाम्रो महोत्सव हो
महोत्सवलाई सफल बनाउन
तीन वर्षमा गरेका गफ, शिलान्यास, कुर्तकका लिष्ट पनि राखौँ
सपना बाडेर सपना बिथोल्ने सपनाका ठेकेदारका भ्रमको सत्यता पनि राखौँ
आउनुहोस यो महोत्सवमा सहभागी बन्न अरुलाई पनि खबर गरौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button