खेलकुद

इंग्ल्यान्डको पाँच गोल!

शुक्रबार, चैत १३

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सान मारिनोमाथि ५–० को फराकिलो जित निकालेको छ ।

घरेलु मैदान वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डको फराकिलो जितमा डोमिनिक काल्भर्ट लेविनले दुई तथा जेम्स वार्ड प्राउज, रहिम स्टर्लिङ र ओले वाट्किन्सले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा २ गोल सम्भव भएको थियो ।

एकपक्षीय बनेको खेलमा घरेलु टोली इंग्ल्यान्डले खेलको १४औं मिनेटमा जेम्स वार्ड प्राउजको गोलबाट अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए । २१आं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले रिस जेम्सको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे।

३१औं मिनेटमा मासन माउन्टको पासमा रहिम स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । ५३औं मिनेटमा काल्भर्टले जेसे लिङ्गार्डको पासम व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै इंग्ल्यान्डलाई सहज जिततर्फ अघि बढाए । ८३औं मिनेटमा फिल फोडेनको पासमा ओले वाट्किन्सले गोल गर्दै इंग्ल्यान्डलाई ५–० को फराकिलो जित दिलाए ।

यही समूह ‘आई’ को अर्काे खेलमा अल्वानियाले एन्डोरालाई १–० ले पराजित गर्दा हंगेरी र पोल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली हंगेरीका रोलान्ड सलाई, एडाम जलाई र विल्ली ओर्वानले गोल गर्दा पोल्यान्डका क्रिजिस्टफ पियाटिक, कामिल जोजवियाक र रोवर्ट लेवान्डोस्कीले गोल गरे ।

जितपछि इंग्ल्यान्ड समुूह ‘आई’ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक भएपनि अल्वानिया दोस्रो स्थानमा रहेको छ । समान १ अंक जोडेको पोल्यान्ड र हंगेरी तेस्रो र चौथो स्थानमा रहँदा अंकविहीन एन्डोरा र सान मारिनो पाँचौ र छैटौ स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button