खबर

अख्तियारलाई छलेर ठेक्का सम्झौता

सेक्युरिटी प्रेस खरिद प्रकरण
१३ बैशाख २०७८
newsofnepal
नेपाल समाचारपत्र, काठमाडौं ।

गोकुल बाँस्कोटा र विजय प्रकाश मिश्रको अडियो टेप काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसका लागि अर्को चलखेल शुरु भइसकेको छ । उक्त अडियो टेपले गर्दा बाँस्कोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा नै दिनुपरेको थियो ।विवादमा परेको एउटा कम्पनीलाई सरकारले सेक्युरिटी प्रेस स्थापनाका लागि ठेक्का दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले विवादमा तानिएको म्याक्स इन्टरनेसन कम्पनीलाई उक्त ठेक्का दिएको हो ।

ठेक्का बोल कबोलमा दोस्रो नम्बरमा रहेको म्याक्स इन्टरनेसन कम्पनीलाई ठेक्का दिने आशयको सूचना केन्द्रले निकालेपछि बोलकबोलमा पहिलो नम्बरमा रहेको एलिमेक इन्टरनेसनल कम्पनी जिल्लिएको छ । उक्त टेन्डरमा एलिमेक इन्टरनेसनल कम्पनी प्रालिले ६७ करोड रुपियाँ उल्लेख गरेको थियो भने म्याक्स इन्टरनेसनल कम्पनीले ७३ करोड ८८ लाख ९८ हजार ७ सय ४० र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालिले ८१ करोडमा बोल कबोल गरेको थियो ।उक्त कम्पनीलाई ठेक्का दिँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको भए पनि सुरक्षण मुद्रण केन्द्रले अख्तियारलाई समेत बेवास्ता गर्दै म्याक्स इन्टरनेसनल कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । गएको चैत २७ गते अख्तियारले उक्त ठेक्काको फाइल तानेर लगेकै दिन केन्द्रका प्रमुख विकल पौडेल र कम्पनीका मालिक अकवर हुसेनले ठेक्का सम्झौतामा हस्ताक्षर गरेका हुन् ।केन्द्रले अख्तियारले फाइल लगेको तेस्रो दिन म्याक्स इन्टरनेसनको नाममा १४ करोड भुक्तानीसमेत दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुनौती दिएको छ ।

म्याक्स इन्टरनेसनलले अनलाइन बिडिड गर्दा ८१ करोड मूल्य उल्लेख गरेको भए पनि सम्झौता गर्दा भने ७३ करोड ८८ लाख ९८ हजार ७ सय ४० रुपियाँमा सम्झौता गरेको पाइएको छ ।म्याक्स इन्टरनेसनले चीनमा बनेको एचपी कम्पनीको मेसिन खरिद गरेर उपलब्ध गराउने उल्लेख गरेको थियो एलिमेक इन्टरनेसनल कम्पनीले इटालीमा बनेको डट्स कम्पनीको मेसिन उपलब्ध गराउने उल्लेख गरेको थियो ।एलिमेक इन्टरनेसनल कम्पनीले ६७ करोडमा उक्त मेसिन खरिद गरेर जडान गरी सञ्चालनमा ल्याएर केन्द्रलाई हस्तान्तरण गर्ने उल्लेख गरेको थियो । सरकारले सम्झौता गरेको म्याक्स इन्टरनेसनल कम्पनीले मेसिन खरिद गरेर नेपाल ल्याएपछि सबै भुक्तानी गर्ने गरी सम्झौता गरेकाले उक्त प्रेस सञ्चालनमा आउने सम्भावना निकै कम रहेको विज्ञहरुले बताएका छन् ।

प्रधानमन्त्रीका आईटी सल्लाहकार असगर अलिसँग मिलेर म्याक्स इन्टरनेससन प्रालिले सरकारी काम तथा जताततै टेन्डर पारिराखेको स्रोतको आरोप छ । ‘गोकुल बाँस्कोटाको त्यस्तो ठूलो काण्ड नसेलाउँदै फेरि त्यही सेक्युरिटी प्रेसमा चलखेल गर्न माथिको आशिर्वाद नभए कसले आँट गर्न सक्छ र ?’ –स्रोतको तर्क छ ।समाचारका बारेमा म्याक्स इन्टरनेसनल प्रालिका प्रबन्ध निर्देशक अक्वर हुसेनसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button