एजेन्सी, मुम्बई, 2021/05/03
अभिनेत्री कटरीना कैफले बलिउडमा आफ्नो अलग पहिचान बनाएकी छन् । २००३ मा प्रदर्शन भएको फिल्म ‘बोम’ बाट अभिनय करिअर सुरु गरेकी उनको अभिनय र नृत्यको सधैं प्रशंसा हुने गरेको छ । बलिउडकी महंगी अभिनेत्री समेत रहेकी उनको खातामा कयौं हिट फिल्म छन् । केही ब्लकबस्टर फिल्म छाडेकी पनि छन् । जसमध्ये प्रायः फिल्म दीपिका पादुकोणले गरेकी छन् ।
चेन्नई एक्सप्रेस
फिल्ममा शाहरुख खानको अपोजिटमा दीपिका पादुकोण देखिएकी थिइन् तर यो रोलका लागि पहिलो रोजाई कटरीना कैफ थिइन् । यो फिल्म रिलिजपछि दीपिकाको करिअरले नयाँ उचाई मिलेको थियो । भारतीय मिडियाको रिजोर्ट अनुसार, कटरीनाले भाषा र उच्चारणका कारण फिल्म रिजेक्ट गरेकी थिइन् । ‘चेन्नई एक्सप्रेस’ ले बक्सअफिसमा तीन सय करोड छापेको थियो ।
बाजीराव मस्तानी
धेरैलाई विश्वास नलाग्न सक्छ कि जुन रोल मस्तानी दीपिका पादुकोणले जीवन्त रुपमा निभाएका थिइन्, त्यो पहिला अभिनेत्री कटरीना कैफलाई अफर भएको थियो । तर, उनले आफूभन्दा उमेरले कान्छा अभिनेता रणवीर सिंह सँग रोमान्स नगर्ने भन्दै फिल्म छाडेकी थिइन् । कटरीनाले फिल्म गर्न नमानेपछि निर्देशक सञ्जय लीला भन्सालीले दीपिकालाई मस्तानीको रोल अप्रोच गरेका थिए ।
राम लीला
यो फिल्मले अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको करिअर उत्कर्षमा पुर्याएको थियो । फिल्ममा दीपिकाले लीलाको भूमिका निर्वाह गरेकी थिइन् । तर, उनीभन्दा अगाडि यो रोल कटरीना कैफलाई अफर भएको थियो । तर, सय करोड कमाउन सफल यो फिल्म पनि उनले छाडिन् । यही फिल्मको सेटबाट दीपिका र रणवीरको अफेयरको खबर बाहिर आएको थियो ।
ये जवानी है दीवानी
दीपिकाको करिअरको सफल फिल्ममध्ये एक हो, ‘ये जवानी है दीवानी’ । यो फिल्ममा उनको जोडी रणवीर कपूरसँग बाँधिएको थियो । फिल्ममा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । तर, यो फिल्म पनि कटरीनाले अस्वीकार गरेपछि दीपिकाको हातमा परेको थियो। कटरीनाले निकै सोच विचार गरेर फिल्म नगर्ने निर्णय लिएकी थिइन् । पछि फिल्म हिट सावित भयो ।



