
असमको बामुनीबाट 18 वटा जङ्गली हात्तीको शव उद्धार
मे 14, 2021
गुवाहाटी : छिमेकी राज्य असममा 18 वटा जङ्गली हात्ती मरेको अवस्थामा वन विभागले उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार असमको नागोन जिल्लाको कार्बी आङ्लोङ जिल्लासित जोडिएको सीमा क्षेत्रको बामुनी भन्ने जङ्गलमा यी 18 वटा हात्तीहरू मरेको अवस्थमा उद्धार गरेको बताइएको छ। वन विभागका शीर्ष अधिकारीहरूले गुवाहाटीमा बताएअनुसार यी हात्तीहरू सम्भवतः वर्षाको समय बज्रपातको कारणले मरेको हुनसक्ने आशंका रहेको छ।
वनविभागद्वारा कुवामा डुबेर मरेको चितुवा उद्धार

मे 14, 2021
सिलगढी : सुकुना वन्य प्राणी विभागले आज बिहान सिलगढीको मिलनमोड स्थित जादुभित्ताको एउटा कुवाबाट मरेको अवस्थामा चितुवा उद्धार गरेको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार सरकारले बनाएको जादुभित्तास्थित एउटा कुवालाई बाहिरबाट हरियो पोलेथिनले डाकिएको थियो भने सम्भवतः गत राति उक्त चितुवा त्यहाँ उफ्रिँदा सोझै कुवाभित्र पसेर मरेको हुनसक्ने बताइएको छ। अर्कोतिर, स्थानीय एकजना व्यक्तिले दिएको जानकारी अनुसार कुवाको नजिकैमा रहेको एउटा फार्ममा सुँगुरको सिकार गर्न जाँदा सम्भवतः उक्त कुवामा पस्दा डुबेर चितुवा मरेको हो। आज बिहान स्थानीय मानिसहरूले यसबारे थाहा पाएपछि वन विभागलाई जानकारी दिएपछि वन कर्मचारीहरूले कुवाबाट मरेको अवस्थामा उक्त चितुवा निकाले।
सांसद राजु विष्ट र विधायक बीपी बजगाइँद्वारा खरसाङ अस्पतालको निरीक्षण, विभिन्न चिकित्सा सामग्रीहरू प्रदान

मे 14, 2021
खरसाङ : दार्जिलिङ जिल्लाका भाजपा सांसद राजु विष्ट अनि नवनिर्वाचित विधायक बीपी बजगाइँले आज खरखाङ उप महकुमा अस्पतालको निरीक्षण गर्नको साथै अस्पतालका सुपरिटेन्डेन्ट, डाक्टर, नर्स एवम् अस्पतालका स्टाफहरूसित भेटेर वर्तमान कोरोनाको परिस्थिति साथै अस्पतालको असुविधाहरू बारेमा जानकारी लिए। खरसाङ उप महकुमा अस्पतालले निक्कै ठुलो जनसङ्ख्यालाई चिकित्सकीय सेवा प्रदान गर्दै आइरहेकोले अस्पतालका विशेष डाक्टर, नर्स तथा स्टाफहरूप्रति सांसद अनि विधायक द्वयले आभार प्रकट गरे। अस्पतालका विविध सुविधाहरूको अभावमा पनि स्टाफहरूले रोगीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न कठोर मेहनत गरिरहेको तिनीहरूले बताए।
यस अवसरमा सांसद राजु विष्टले अस्पताललाई दुईवटा अक्सिजन कन्सेनट्रेटर, अक्सिमिटरहरू, पीपीई किट्स तथा मास्कहरू प्रदान गरे। यसको साथै खरसाङ अस्पतालको लागि आफ्नो सांसद कोषबाट राजु विष्टले एउटा एम्बुलेन्स प्रदान गर्ने पनि वचन दिएका छन्। उक्त एम्बुलेन्समा जीवन रक्षक उपकरण अनि अक्सिजन यन्त्रहरू जडित रहने तिनले बताएका छन्। यसैगरी, अस्पतालको कोभिड वार्डमा तैनाथ स्टाफ तथा नर्सहरू आफ्नो ड्युटीपछि बस्ने ठाउँ समेत नभएकोले तिनीहरू ड्युटीपछि परिवारका सदस्यहरूलाई भाइरस संक्रमण हुन्छ भनेर घर फर्कन डराइरहेको स्थिति थाहा पाएपछि तिनीहरूको निम्ति सांसद विष्टले अस्पताल नजिकैमा सुरक्षित आवास सुनिश्चित गरिदिने आश्वासन दिएका छन्।
पानीघट्टामा ईस्लाम धर्मावलम्बीहरूद्वारा ईद पालन

मे 14, 2021
आज मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा ठुलो मानिने पर्व ईद-उल-फितर अर्थात् ईद हो। आजको दिनमा सबै मस्जिदमा भेला भएर मुस्लिम समुदायका मानिसहरूले नवाज पढ्ने गर्दछन्। जसमा अल्लाहसित सख-शान्ति तथा भाइचाराको निम्ति प्रार्थना गर्ने गर्दछन्। एक महिनाको कठोर उपवासपछि आजको दिनमा ईद मनाइने परम्परा चलिआएको छ।
यो सम्पूर्ण महिनालाई नै मुस्लिम धर्मावलम्बीहरूले पवित्र रमजानको रूपमा मान्ने गर्दछन्। यसै क्रममा आज पानीघट्टाको मस्जिदमा पनि मुस्लिम समुदायका मानिसहरूले सामाजिक दूरीलाई पालन गर्नको साथै मास्क लगाएर ईदको नवाज पढे। यस अवसरमा पानीघट्टा पुलिस आउटपोस्टका बडाबाबु सुप्रकाश सरकारले इस्लाम समुदायकाहरूसित भेट गरेर ईदको बधाई दिँदै सुख-शान्ति एवम् भाईचाराको सन्देश दिए।siliguritimes/from,india



