जेठ २१, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेइविरुद्ध विश्वकप छनोटमा प्राप्त गरेको जित अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् ।
नेपालले बिहिबार भएको खेलमा ताइपेइमाथि २-० को जित दर्ता गरेको थियो । नेपालको जितमा अन्जन विष्टले पहिलो हाफ र वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले दोस्रो हाफमा गोल गरेका थिए । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यस जित अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई समर्पित गर्न चाहे ।
‘यो जित नेपाली समर्थकका लागि हो । विशेषगरि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि । वहाँहरुले मिहिनेत गरेकै कारण हाम्रो खेलाडीले पनि यहाँसम्म आउन सके,’ उनले खेलपछि खुसी साट्दै भने ।

प्रशिक्षक अलमुताइरीले आफ्नो जितको खुसी नेपाल मात्र नभएर कुवेतको लागि पनि उत्तिकै रहेको बताए । ‘मैले नेपाल र कुवेत दुवैको प्रतिनिधित्व गरिरहेको छु । कुवेतका सबैलाई पनि बधाई दिन चाहन्छु । कुवेत बाहिर गएर कुनैपनि प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल जितेको यो नै पहिलो अवसर हो । यो जितले मेरो लागि निकै महत्त्व बोकेको छ,’ उनले भने ।
प्रशिक्षक अलमुताइरीले नेपाली फुटबलका लागि यो सुरुवात मात्र भएको बताए । ‘यो जित हासिल गर्न सहज थिएन । हामीले निकै मिहिनेत गरेर अघि बढेका थियौं । मलाई विश्वास गर्ने एन्फा, राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटि लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
‘यो भर्खर सुरुवात हो । हामीले आफ्नो लक्ष्यमा पुग्न बाँकी नै छ । अब हामी एसिया कप छनोट तेस्रो चरण र साफ च्याम्पियनसिपको फाइनल खेल्ने लक्ष्यमा छौं । केहि धैर्य गर्नुहोस । हामीले अझै धेरै हेर्न बाँकी छ,’ उनले थपे ।
प्रशिक्षक अलमुताइरीले खेलको तयारीमा टोलीले गरेको मिहिनेतकै कारण जित सम्भव भएको बताए । ‘हामीले चाइनिज ताइपेइको खेल अध्ययन गरेका थियौं । आज विहान मात्र पनि हामीले ११ ओटा अभ्यास गरेर अध्ययन गरेका थियौं । त्यसैले मैदानमा खेल्न हामी तयार थियौं,’ उनले भने ।
‘हामीले खेलको अवस्था अनुसार के गर्ने भन्ने रणनीति तयार पारेका थियौं । अन्जनले तेस्रो मिनेटमा नै गोल गरेपछि खेलमा नियन्त्रण गर्न निकै सहज भयो । हामीले खेल कसरी खेलाउने भन्ने नियन्त्रण गर्न सक्यौं ।’
‘पछिल्लो खेलबाट टोलीमा केहि परिवर्तन गर्न जरुरी थियो । विपक्षी टोलीले पनि हामीलाई अध्ययन गर्छन् भन्ने थाहा थियो । त्यसैले आशिष र सुनिलबारे उनीहरुलाई जानकारी छैन भनेर उतारेको हो,’ उनले थपे, ‘दोस्रो हाफमा खेलाडी परिवर्तन गराउने हाम्रो रणनीति नै थियो । मनिष र नवयुगले पनि त्यसै गर्न सके । ताइपेइले पनि राम्रो प्रदर्शन गरेको थियो, तर हामीले राम्रो अध्ययन गरेकाले सहज भयो ।’
नेपालले अब छनोटको सातौं खेलमा जोर्डनको सामना गर्नेछ । खेल सोमबार रातको ९:४५ बजे हुनेछ ।



