खबर

मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन हतारमा उद्घाटन गर्दा समस्या

काठमाडौं ,जेठ २४, २०७८
मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी दिन सुरु गरेको छोटो समयमै सुरुङ परीक्षणको बहानामा करिब तीन महिना वितरण रोक्ने भएको छ । यसबाट आयोजनाको सम्पूर्ण काम नसकिँदै सरकारले हतारमा आयोजना उद्घाटन गरेको बुझ्न सकिन्छ । संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आयोजना हतारमा उद्घाटन र शिलान्यास गरेको भनी आरोप लाग्दै आएको छ ।

सरकारले काम गरेको देखाउने, निर्वाचन भए सोझासाझाबाट मत तान्ने र इतिहासमा आफ्नो नाम राख्ने इच्छाका कारण उनले जथाभाबी तरिकाले आयोजनाको शिलान्यास र उद्घाटन गरेको भनेर चर्चा हुने गरेको छ । मेलम्चीको पछिल्लो परिस्थितिले ओली सरकारले आयोजनाका सम्पूर्ण काम पूरा नहुँदै परीक्षणका रूपमा पानी वितरण गरेको अवसर छोपेर उद्घाटन गरेको संकेत गर्छ ।नागरिक दैनिकमा छ।

आयोजनाका एक उच्च अधिकारीका अनुसार सम्पूर्ण निर्माण कार्य र परीक्षणका काम सकेर नियमित रूपमा पानी वितरण सुरु गरेपछि मात्र आयोजनाको उद्घाटन हुनुपर्ने हो । तर काठमाडौं उपत्यकामा परीक्षणका रूपमा पानी झर्नेबित्तिकै सरकार उद्घाटनमा आतुर देखियो । ती अधिकारीले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण सरकारको आयु अनिश्चित नभएपछि प्रधानमन्त्री ओली मेलम्ची आयोजना उद्घाटनका लागि हतारिएको बताए । ‘लामो समयदेखि चर्चामा रहेको मेलम्ची आयोजना आफ्नो पालामा सम्पन्न भएको देखाउन जुनसुकै राजनीतिक दल पनि लालायित थिए । यसमा अहिले ओलीले बाजी मार्ने काम गरे,’ ती अधिकारीले भने, ‘पछिल्लो समय आयोजनाको निर्माण चाँडो सक्न ओली आफैंले चर्को दबाब दिएका थिए ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button