स्वास्थ्य

विश्वमा सुर्ती सेवनको चिन्ताजनक नतिजा

चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, हुक्का वा कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा आदि सुर्तीजन्य पदार्थ हुन्। धूम्रपान गर्नु भनेको चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ आगो सल्काएर धुँवा खानु हो। खैनी, गुट्खा, सुर्ती वा यस्तै किसिमका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य सुर्ती सेवन हो। विभिन्न अनुसन्धानका अनुसार सुर्तीजन्य पदार्थमा २ सय देखि ४ सयसम्म अति हानिकारक रसायनहरु हुन्छन्। करिब ६० प्रकारका प्राणघातक क्यान्सर गराउने तत्वहरु पनि पाइन्छन्। खासगरी सुर्तीमा खोटो र कार्बन मनोअक्साइड जस्ता घातक रसायनहरु पाइन्छन्। साथै धूम्रपानका लागि लत बसाउने निकोटिन समेत पाइन्छ।

धूम्रपानको प्रयोगले गम्भीर स्वास्थ्य समस्याको रुपमा मुख, घाँटी, स्तन र फोक्सोको क्यान्सर गराउँछ। रक्तनलीहरू खुम्चिंदै जाने र रक्तचाप बढाउँछ। खोकी लाग्ने, मुटु, कलेजो सम्बन्धी रोग लाग्ने, पेट र आन्द्रामा अल्सर हुने जस्ता रोगहरु समेत निम्त्याउँछ। त्यसैगरी मष्तिस्कको क्षमता घट्दै जाने, छाला चाउरी पर्ने, सास गन्हाउने, खानामा पूरा स्वाद नपाउने हुन्छ। दाँत र ओठ कालो हुँदै जान्छन्। दाँतसम्बन्धी रोग देखापर्दछन्। अतः धूम्रपान वा सुर्ती सेवन मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक छ। यति धेरै हानिकारक हुँदाहुँदै पनि विश्वमा सबैभन्दा बढी सुर्तीजन्य पदार्थको सेवन हुने गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर १ अर्ब ३ करोड मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्दछन्। यी मध्ये ८० प्रतिशतभन्दा बढी कम र मध्यम आय भएका मुलुकहरूका मानिस पर्दछन्। जहाँ सुर्तीजन्य पदार्थसंग सम्बन्धित रोग र मृत्युको बोझ सबैभन्दा बढी हुने गरेको छ। सुर्तीजन्य पदार्थको प्रयोग स्वास्थ्यका लागि मात्र हानिकारक नभई आर्थिक रुपमा समेत तहसनहस बनाएर पारिवारिक खर्चलाई आधारभूत आवश्यकताहरूबाट कटौती गर्दै गरिबीतर्फ धकेल्ने माध्यम बनेको छ।

विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट ठूलो हानी–नोक्सानीको अवस्था आएपछि ७ अप्रिल १९८७ मा डब्लुएचओका सदस्य राष्ट्रहरुले “विश्व धूम्रपान रहित दिवस” मनाउने निर्णय गरे। सोही अनुरुप हरेक वर्ष मे ३१ का दिनदेखि विभिन्न कार्यक्रमसहित यो दिवस मनाउन थालियो। यस मार्फत् धूम्रपानको प्रयोग र असर, क्षति तथा खतराका बारेमा विश्व समुदायमा सचेत गराइन्छ साथै यसको उत्पादन, खरिद, विज्ञापन एवं सेवनमा कमी ल्याउने भन्नेतर्फ जवाफदेही बनाउने लगायतका पक्ष समेटेर हरेक वर्ष दिवसहरु मनाउने गरिएको छ।

डब्लुएचओका अनुसार विश्वमा धूम्रपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ साथै सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ८० लाख मानिसहरुको मृत्यु हुन्छ। यी मध्ये लगभग १२ लाख मानिसहरू आफूले धूम्रपान नगर्ने र अरुले सेवन गरेको असरबाट मृत्यु हुने गरेको छ। विश्वका बालबालिकाहरुमध्ये झण्डै आधाले सुर्तीको धुँवाले प्रदूषित बनाएको हावाबाट श्वास फेर्दछन्। विश्वमा हरेक १० जना वयस्कमा १ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुन्छ। नेपालमा पनि सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष १५ हजार मानिसको मृत्यु हुने गरेको छ। यहाँ ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाहरु धूम्रपान गर्दछन्। यही अवस्था विद्यमान रहेमा २१ औं शताब्दीमा १ अर्ब मानिसको मृत्यु हुने डब्लुएचओले जनाएको छ।

विश्वमा धूम्रपान यति ठूलो समस्या एवं चुनौती भइरहँदा पनि यसको प्रयोग गर्नेको संख्या दिन–प्रतिदिन बढ्दै छ। डब्लुएचओका अनुसार सन् २०३० सम्म प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ। जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरुका हुनेछन्। अतः सुर्तीजन्य पदार्थको सेवनले विश्वमा ठूलो जनस्वास्थ्य संकट सिर्जना गरेको छ।

डब्लुएचओका अनुसार हाल कोभिड–१९ महामारीले गर्दा सुर्ती सेवन गर्ने लाखौं मानिसहरूले चुरोट छोड्न चाहेको बताएका छन्। विश्वभरका सुर्तीजन्य पदार्थ सेवन गर्ने झण्डै ६० प्रतिशत मानिस सो बानी छोड्न चाहन्छन्। सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूलाई चुरोट छोड्न मद्दत गर्ने उद्देश्यले हाल २३ देशले मात्र एकीकृत जनचेतनामूलक सेवा प्रदान गरेका छन्। यस्तो कार्यक्रमलाई अन्य मुलुकहरुले पनि अनुकरण गर्नुपर्ने देखिन्छ।

यसतर्फ ध्यान दिँदै डब्लुएचओले “विश्व धूम्रपान रहित दिवस” का अवसरमा “धूम्रपान : छोड्नको लागि प्रतिबद्ध” भन्ने नारा बनाएर विश्वव्यापी अभियान सुरु गरेको छ। यस अभियानको लक्ष्य विभिन्न पहलकदम तथा डिजिटल उपकरणको माध्यमबाट कम्तिमा एक करोड मानिसहरूलाई सुर्तीजन्य पदार्थको प्रयोग छोड्न मद्दत गर्ने रहेको छ। यसले देहायबमोजिमका ४ रणनैतिक योजना सहित सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गरि स्वस्थ समाजको निर्माण गर्न मद्दत गर्नेछ : पहिलो, सुर्तीजन्य पदार्थको उन्मूलनका लागि बनाइएका नीतिलाई समर्थन गर्ने। दोस्रो, सुर्तीजन्य पदार्थको सेवनबाट छुटकारा दिनको लागि उपलब्ध सेवाको पहुँचमा सुधार गर्ने। तेस्रो, सुर्तीजन्य पदार्थ उद्योगको रणनीतिबारे जनचेतना जगाउने। चौंथो, चुरोट छोड्न चाहने मानिसहरूलाई सहयोग गर्ने।

यो अभियानले आम सर्वसाधारणलाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न निरुत्साहित गर्नेछ। सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको रणनैतिक योजना निर्माण एवं सुर्तीजन्य पदार्थको प्रकोप विरुद्ध लड्न जागरण अभियान संचालन गर्नेछ। फलस्वरूप विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य र भावी पुस्ताको स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्बन गर्नेबारे पनि जानकार हुनेछन्।

धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ। यस बारेमा मानिसलाई सचेत बनाउन विभिन्न सन्देश प्रसारण भइरहेका छन्। त्यसैगरी सार्वजनिक स्थल, सवारी साधन, अफिस, अस्पतालमा धूम्रपान गर्न शक्त मनाही टाँसिएको हुन्छ। सार्वजनिक स्थानमा धूम्रपान गरेमा जरिवाना पनि गरिन्छ। यसरी विभिन्न ठाउँमा निषेधको सूचना मार्फत् सचेत गराए पनि धूम्रपान न्यूनीकरण हुन सकेको छैन। यद्यपि मानिसहरू धूम्रपान किन गर्दछन् ? कारणहरु हुन्, धेरै बुढापाकाहरुमा चिन्ता निवारणका लागि धूम्रपान गर्ने मानसिकता छ। अल्लारेहरूमा यो खाएपछि साहस आउँछ भन्ने गलत सन्देश प्रवाह भएको छ। साथी संगत, एकछिनलाई आनन्द मिल्ने, तनाव, चिन्ता, निराशा, आफूलाई अहम् हुँ भन्ने भान पार्ने जस्ता सोंचका कारण धूम्रपानले युवा जमातलाई नराम्ररी प्रभावमा पारेको देख्न सकिन्छ। धूम्रपान छाड्नका लागि अनेक उपाय अपनाए पनि सहजै छोड्न गाह्रो हुने गरेको पाइन्छ।

योजनाबद्ध व्यवहारको सिद्धान्त अनुसार कुनैपनि कार्य गर्नको लागि व्यक्तिको मानसिक सोंच तथा विचार परिवर्तन हुनुपर्दछ। स्वास्थ्यसम्बन्धी व्यवहार व्यक्तिको अर्थपूर्ण स्वेच्छिक नियन्त्रणमा हुन्छ। अर्थात् व्यक्तिको व्यवहारलाई उसको विश्वास, सामाजिक मूल्य–मान्यता, ज्ञान, धारणा आदिले प्रभाव पारेको हुन्छ। जुन प्रभावबाट व्यक्तिको व्यवहारिक सोचाइ बन्दछ। यो व्यक्तिको व्यवहारलाई प्रत्यक्ष प्रभाव पार्ने तत्व हो। किनकी व्यक्तिको व्यवहारलाई उसको मानसिक सोंच तथा विचारले नियन्त्रण गरेको हुन्छ। यस सिद्धान्त अनुसार मानिसहरूमा सुर्तीजन्य पदार्थ सेवन गर्ने वा नगर्ने भन्नेतर्फ अन्योल हुँदै गर्दा यदि उनीहरूमा सुर्ती सेवन घातक हो भन्ने सोंच तथा विचारको विकास भएमा सेवन गर्दैनन्। यस्तो विश्वास नभई ठूलो समस्या आइलाग्दा चिन्ता निवारण गर्दछ। फलानोले कति धेरै खाँदै आएको छ र पनि केही भएको छैन। जीन्दगीमा मोज गर्ने हो। यो खाँदा ठूलो मान्छे भइन्छ। खाँदा आनन्द पनि आउँछ आदि सोंच विचारको विकास हुन पुगेमा सुर्ती सेवन गर्दछ। अतः सुर्ती सेवनको लतलाई छुटाउन सम्बन्धित व्यक्तिको ज्ञान, धारणा र व्यवहारमा सकारात्मक परिवर्तन गर्ने ढंगले स्वास्थ्य शिक्षा प्रदान गरिनुपर्दछ। यसका अतिरिक्त धूम्रपानबाट हुने नकारात्मक परिणामका सम्बन्धमा सचेत गराउने किसिमले ठूला–ठुला होडिङ बोर्ड, आम सञ्चारका साधन, इन्टरनेट, सामाजिक सञ्जालबाट व्यापक प्रचार–प्रसार गर्ने, र्‍याली र अन्य विभिन्न अभियान जस्ता क्रियाकलाप गरेर जनचेतना सुदृढमार्फत् सुर्तीजन्य पदार्थको सेवनलाई रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ।

-(थापा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सरावल गाउँपालिकामा प्राविधिक सहायक (पाँचौं) तहमा कार्यरत छन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button