
बाहुण्डाँगी ।
सुरक्षित खानेपानीको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एक विशेष कार्यक्रम सम्पन्न भएको छ। काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गतको पानी सुरक्षा समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पानीको गुणस्तर, पानीको स्रोतदेखि उपभोक्ताको मुखसम्म पुग्ने सम्पूर्ण प्रक्रियाको सुरक्षा तथा सुरक्षित खानेपानीको प्रयोगसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो।
भृकुटी सिस्टम अन्तर्गत रहेका उपभोक्ताहरू, स्थानीय सामाजिक अगुवाहरू, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा खानेपानीको संरक्षण, वितरण तथा गुणस्तर कायम राख्ने विषयमा विशेष जोड दिइएको थियो। वडा नम्बर २, ३ र ४ का उपभोक्ता प्रतिनिधिहरू सहभागी भएको कार्यक्रममा पानीको मुहानदेखि उपभोक्ताको घरसम्म आइपुग्ने सम्पूर्ण प्रक्रिया प्रत्यक्ष रूपमा जानकारी गराइएको थियो।
कार्यक्रमका वक्ताहरूले सुरक्षित खानेपानी मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसको संरक्षण र सही प्रयोगमा सबैको साझा जिम्मेवारी रहने बताएका थिए। उनीहरूले पानीको स्रोत संरक्षण, वितरण प्रणालीको नियमित अनुगमन तथा उपभोक्ताको सचेतनालाई सुरक्षित खानेपानी सुनिश्चित गर्ने प्रमुख आधारका रूपमा उल्लेख गरेका थिए।
कार्यक्रममा कार्यालय प्रमुख दीपकप्रसाद पोखरेलले सुरक्षित खानेपानीका विषयमा प्रस्तुति दिँदै पानीको गुणस्तर परीक्षण, वितरण प्रणालीमा अपनाइने सावधानी, पानीजन्य रोगबाट बच्ने उपाय तथा उपभोक्ताले अपनाउनुपर्ने व्यवहारिक पक्षबारे जानकारी गराएका थिए। उनले पानीको सुरक्षा सुनिश्चित गर्न संस्थागत प्रयाससँगै उपभोक्ताको सहभागिता पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
पानी सुरक्षा समितिका संयोजक विशाल तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा संस्थाका उपाध्यक्ष गोविन्द गिरी, कोषाध्यक्ष विमला तामाङ तथा सदस्यहरू केदार भट्टराई, सोमराज ढकाल, ईन्द्र प्रधानलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रकाश ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहप्राविधिक रघुनाथ खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए। सहभागीहरूले कार्यक्रमबाट सुरक्षित खानेपानीको महत्व, पानीको गुणस्तर संरक्षण तथा स्रोतदेखि उपभोक्तासम्मको सुरक्षा प्रणालीबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताएका थिए।
आयोजकका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायमा सुरक्षित खानेपानीको प्रयोगलाई प्रवर्द्धन गर्नुका साथै पानीजन्य रोग न्यूनीकरण र स्वस्थ समाज निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



