
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको मतपरिणाम सार्वजनिक गर्नुहुँदै केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ । तस्बिर : सुजन गुरुङ
वसन्त पराजुली
नारायणगढ, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका क्रममा केन्द्रीय सदस्य पदका लागि निर्वाचन सम्पन्न भए पनि बिहीबार मध्यरातसम्म अन्तिम मतपरिणाम भने सार्वजनिक गरिएको छैन । निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले सबै उम्मेदवारले विद्युतीय मतदानमार्फत पाएको मत घोषणा गर्नुभए पनि प्रवासबाट आएको मत भने घोषणा गरिएको छैन । उहाँले अन्तिम नतिजा पछि आउने भन्दै पहिलो चरणको नतिजा घोषणा गरेर बाहिरिनुभएको थियो ।
विद्युतीय भोटिङका आधारलाई हेर्ने हो भने हाल बहाल रहेका मन्त्री तथा शीर्ष नेताको मत अगाडि देखिन्छ । आयोगका उपप्रमुख गुरुङले मतपरिणामको मूल्याङ्कन गर्ने काम भइरहेकाले अन्तिम नतिजा सार्वजनिक गर्न केही ढिलाइ भएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय प्रणाली र अनलाइन माध्यमबाट प्राप्त मतलाई एकीकृत गरी परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको हो । “प्रविधिमैत्री प्रणालीमार्फत गरिएको मतदानको मूल्याङ्कन र प्रमाणीकरणको काम भइरहेकाले परिणाम आउन समय लागेको हो,” उहाँले भन्नुभयो ।

सात प्रदेशबाट पाँच/पाँच जनाका दरले ३५ जना केन्द्रको खुलातर्फ ३५ जना र अन्य महिला, जनजाति आदिवासी सीमान्तकृत समुदायका उम्मेदवार गरी ९९ जना निर्वाचित हुने व्यवस्था विधानमा छ । यसरी निर्वाचित हुनेमध्ये पनि केन्द्रको खुलातर्फ २०७८ को जनसङ्ख्यालाई आधार मानेर सिट सङ्ख्या निर्धारण गरिएको छ । सोही आधारमा विजयी घोषणा गरिने तयारी गरिएको पनि गुरुङले जनाउनुभयो ।
२०७८ को जनसङ्ख्या ब्राह्मण तथा क्षेत्री जस्ता खसआर्यतर्फ ३०.२ प्रतिशतलाई हेरेर महिलातर्फ पाँच जना, पुरुष पाँच जना, जनजाति २८.७ प्रतिशतले हुन आउनेमा पाँच पुरुष र चार महिला, मधेशीतर्फ १६.१५ प्रतिशमा पाँच पुरुष, तीन महिला, दलिततर्फ १३.४४ प्रतिशतले हुन आउनेमा महिलातर्फ दुई र पुरुषतर्फ दुई जना निर्वाचित हुने बताइएको छ । बुधबार मध्यरातबाट सुरु भएको निर्वाचन बिहीबार दिनभर चलेको थियो । केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान सकिएपछि विदेशमा रहेका पार्टी सदस्यका लागि अनलाइन एपमार्फत मतदानको व्यवस्था गरिएको थियो ।
केन्द्रीय सदस्य निर्वाचनमा ९९ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । केन्द्रीय सदस्यका लागि ३७९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय सदस्य निर्वाचनमा कुल तीन हजार ८५९ जना मतदाता रहेकामा ७६.८० प्रतिशत अर्थात् दुई हजार ९५९ जना मतदाताले मतदान गरेका थिए । यस्तै विदेशमा थप १६३ जना मतदाता थिए । विदेशमा कति मत खस्यो भन्ने सार्वजनिक गरिएको छैन । प्रवासमा रहेका हकमा अनलाइन एपमार्फत मतदान गरिएको थियो ।
यो निर्वाचनमा सभापतिमा रवि लामिछाने सर्वसम्मत हुनुभएको थियो । यद्यपि सर्वसम्मत निर्वाचित भएको घोषणा भने गरिएको छैन । उहाँको एकल उम्मेदवारी छ । उहाँको सभापति पदका लागि प्रधानमन्त्री वालेन्द्र शाह प्रस्तावक रहनुभएको थियो भने ५१ जनाले समर्थन गरेका थिए । पार्टीले विधान संशोधन गर्दै केन्द्रीय समितिको संरचनासमेत परिवर्तन गरेको छ । संशोधित विधान अनुसार केन्द्रीय समिति १५८ सदस्यीय हुने छ । जसमा १९ जना पदाधिकारी रहने, सात जना प्रदेश सभापति पदेन सदस्य हुने र बाँकी सभापतिले मनोनायन गर्ने विधानमा व्यवस्था छ ।
निर्वाचित केन्द्रीय सदस्यमध्येबाट छ जना प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन हुने छन् । बाँकी पदाधिकारी भने सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । सभापतिले मनोनयन गर्ने पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसहित १२ जना रहने बताइएको छ । रास्वपाको संशोधित संरचना अनुसार रास्वपामा उपाध्यक्ष (खुला), उपाध्यक्ष (महिला), महामन्त्री, सहमहामन्त्री (खुला), सहमहामन्त्री (महिला), कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पदाधिकारी रहने छन् । पहिलो चरणको मतपरिणाम सार्वजनिक नहुँदा पदाधिकारीको उम्मेदवारी दर्ता भएको छैन । मतदान सकिए पनि प्राविधिक परीक्षण र मत प्रमाणीकरणका कारण अन्तिम परिणाम सार्वजनिक हुन ढिलाइ भएको हो ।
गोरखापत्र अनलाइन



