
५ असार २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । प्रेस क्लब मेचीनगरले आफ्नो बार्षिक उत्सवको अवसर पारेर टि सर्ट ( भेष्ट) वितरण गर्ने भएको छ ।
२०७१ साल असार ४ गते स्थापना भएको क्लबले आफ्नो स्थापनाको आठौं बर्ष प्रवेशको अवसर पारेर सदस्यहरुका लागि प्रेस क्लबको लोगो अंकित टि–सर्ट वितरण गर्ने कार्यक्रम तय भएको क्लबका सचिव जीआर धितालले जानकारी दिए ।
प्रेस क्लब मेचीनगरको कार्यालयमा क्लबको बार्षिक उत्सव सप्ताहको अवसरमा शनिबार आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा क्लबको स्थापनादेखि अहिले सम्मको गतिविधिका बिषयमा समेत समिक्षा गरिएको थियो ।

सो अवसरमा क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्यले क्लबले आफ्नो दायित्व पुरा गर्ने गरीको कार्यक्रमहरु अघि बढाउन आग्रह गरे ।
आचार्यले क्लबले अवलम्वन गरेका नीति तथा लक्ष्य पुरा गर्न निरन्तर लागि पर्न आग्रह गर्दै प्रेस क्लबका सम्पूर्ण गतिविधिहरुमा पूर्व पदाधिकारी तथा अग्रज पत्रकारहरुको सहयोग र समन्वय रहने प्रतिवद्धता ब्यक्त गरे ।
क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेलले पत्रकार उपचार कोष स्थापना गर्न आग्रह गरे । उनले उपयुक्त दाताको पहिचान गरी क्लबलाई आर्थिकरुपमा मजबुद बनाउनु पर्ने धारणा राखेका थिए ।
छलफलका क्रममा पौडेलले मेचीनगर पत्रकार उपचार कोष तत्काल सुरु गर्न अनुरोध गर्दै आफ्नो तर्फबाट कोेषका लागि १० हजार प्रतिवद्धता ब्यक्त गरे । प्रेस चौतारी नेपाल झापाका अध्यक्षसमेत रहेका क्लबका निवर्तमान अध्यक्ष पौडेलले क्लबले आठौं बर्ष प्रवेशको अवसरमा कार्यालयका लागि एक वटा स्टेण्ड फेनसमेत प्रदान गर्ने घोषणा गरे ।

अग्रज पत्रकार जी एन शर्माले समसामयीक बिषयमा सरोकारवाला पक्षसँग साप्ताहिकरुपमा साक्षात्कार कार्यक्रमको आयोजना गर्न सुझाव दिए । शर्माले क्लबलाई यो स्थानसम्म ल्याइ पुर्याउन भूमिका खेल्ने सबैलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरे । उनले समाचार विभागका कार्यरत पत्रकार र अन्य क्षेत्रमा रहेर सञ्चारकर्ममा क्रियाशिल सबैको अलग÷अलग पहिचान हुने गरीको व्यवस्थापन गर्न आग्रह गरे ।
प्रेस संगठन झापाका अध्यक्ष झुुलन रेग्मीले पत्रकारहरुको स्वास्थ्य अवस्थालाई सम्बोधन हुने गरीको कार्यक्रम ल्याउन प्रस्ताव गर्दै अग्रज एवम् सम्पूर्ण पत्रकारहरुले हरेक समय आफ्नो जिम्मेवारी, हैसियद र मर्यादाको ख्याल गर्न जरुरी देखिएको धारणा राखे ।
रेग्मीले पछिल्लो समयमा पत्रकारहरुले सामाजिक सञ्जालमा द्वेश पोख्ने र अनर्गल टिप्पणी गर्ने, प्रचारमूखी अभिब्यक्ति प्रकट गर्ने गरेको भन्दै आफ्नो क्षेत्रमा संवेदनशिल बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्लबका सदस्य तथा प्रेस चौतारी नेपाल झापाका सह संयोजक प्रकाश पौडेल, सदस्यहरु दिलिप थापा, हरिकृष्ण भण्डारीलगायतले आफ्नो धारणा राख्दै प्रेस क्लबलाई पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धि गर्ने गरी पेशागत तालिमको व्यवस्था गर्न माग गरे ।
कार्यक्रमका बक्ताहरुले मेचीनगरका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस क्बलले आफ्नो अभिभावकीय जिम्मेवारी निर्वाह गरेको बताउँदै आगामी दिनसमेत क्लबलाई सबैको अपनत्व हुने गरीको वातावरण सृजना गर्दै आफ्ना गतिविधिहरु अघि बढ्न सुझाव राखेका थिए ।
प्रेस क्लब मेचीनगरकाका अध्यक्ष लक्ष्मी उप्रेतीले सहभागीहरुलाई क्लबको एकता महाधिवेशनबाट निर्वाचित कार्य समितिले हालसम्म सञ्चालन गरेका गतिविधिका बारेमा अवगत गराएका थिए ।

अध्यक्ष उप्रेतीले क्लबलाई हालको अवस्थासम्म ल्याइ पुर्याउन सबैको साथ र सहयोग प्राप्त भएको बताउँदै पत्रकारहरुको हितमा क्लबका आगामी योजनाहरु केन्द्रित रहने प्रतिवद्धता ब्यक्त गरे ।
क्लबले बर्षीक सप्ताहकै बीचमा मेचीनगरका सम्पूर्ण पत्रकारहरुको उपस्थितिमा सदस्या एवम् भेष्ट वितरण कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ ।
प्रेस क्लबको तर्फबाट शनिबारनै क्लबका संस्थापक कोषाध्यक्ष एवम् वर्तमान सदस्य पत्रकार पर्वत पोर्तेलका पुजनीय बुवाको निधन भएको छैटौ दिनको अवसर पारेर श्रद्धाञ्जली एवम् समवेदना प्रकट गरेको थियो ।
सो अवसरमा क्लबका पूर्व पदाधिकारीहरु, वर्तमान कार्यसमिति तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।



