खेलकुद

पहिलो जितसँगै उरुग्वे क्वाटरफाइनलमा

असार ११, २०७८

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत समूह ए को खेलमा बोलिभियालाई पराजित गर्दै उरुग्वेले पहिलो जितसहित क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

पहिलो हाफमा आत्मघाती गोलले अघि बढेको उरुग्वेका लागि दोस्रो हाफमा एडिन्सन काभानीले गोल गरेपछि टोलीले २-० को जित दर्ता गरेको हो । यस जितसँगै ३ खेलमा ४ अंक जोडेको उरुग्वे नकआउट चरणमा पुगेको छ ।

पहिलो हाफको ५ मिनेट बाँकी रहँदा बोलिभियाका जाइरो क्विनटेरोस र कार्लोस लाम्पेबीच समझदारी हुन नसक्दा लाम्पेले आत्मघाती गोल गर्न पुगेका थिए । उरुग्वेले एकपछि अर्को आक्रमण बुनेपनि बोलिभियाको डिफेन्सले बलियो प्रदर्शन गरेको थियो ।

७९ औं मिनेटमा काभानीले गोल गर्दै जित पक्का गरेका थिए । फाकुन्डो टोरेसको क्रसलाई गोलमा परिणत गर्दै काभानीले उरुग्वेलाई जारी कोपा अमेरिकामा पहिलो जित दिलाएका थिए ।

उरुग्वेले ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि अर्जेन्टिनासँग १-० ले पराजित उरुग्वेले चिलीलाई १-१ को बराबरीमा रोकेको थियो । बोलिभिया भने लगातार तेस्रो हारसँगै अंक तालिकाको पुछारमा नै रहेको छ । यसै समूहको अर्को खेलमा आज चिली र पाराग्वे खेल्दैछन् ।

समूहमा शीर्ष स्थानको अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । चिलीको ३ खेलमा ५ अंक छ भने पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button