स्वास्थ्य

बारी, बाढी, महामारी

सामना ओली

मेलम्ची!
हेर्दा कति रमाइलो! हरिया पहाड, छङ्छङ बग्ने नदी, वरिपरिका खेतबारी ! मेलम्चीबासीलाई मेलम्चीकै सहारा ! नदीकै किनारमा बसेर अजम्बरी नदीलाई हेर्दै, पौडी खेल्दै हुर्केका मेलम्चीबासी ! त्यो नदीले वास्तवमा त्यहाँका अनेक पुस्ता देख्यो अनि हरेक पुस्ताले उसको किनारमा गरेको सघंर्ष देख्यो! नदीका किनारका मौसम बदलिए, त्यहाँ खेतबारीमा उम्रने बालीनाली बदलिए, समय बदलियो अनि पुस्ता बदलिए। तर मेलम्ची सधैं उस्तै रहिन। बाबु-बाजेको पालादेखी मेलम्ची यस्तै छिन् रे- अविरल अनि निश्चल।

वास्तवमा मेलम्चीले कहिले कसैलाई पिरेकी होइनन्। उनलाई क-कस्ले पिरे, त्यो उनि नै जान्दछिन्। तर गएको हप्ताबाट ती मेलम्ची अविरल र निश्चल रहिनन्, उनी बनिन्- प्रचण्ड अनि कहालीलाग्दी। मेलम्चीले देखिनन् ती खेतबारी, ती बालीनली, पुस्तौँदेखी उनको शरणमा बसेका ती मान्छे। आखिर मेलम्ची प्रकृति हुन्। प्रकृति सबैको हुन्छ, तर कसैको हुँदैन। जब प्रकृति आक्रामक हुन्छ, तब मान्छे हुन्छ त केवल: निहत्था अनि निराश। जब मेलम्ची गड्गडाइएर आइन्, सबैले सबै कुरा बिर्से। मेलम्चीको मिठो हावा, मेलम्चीमा सिचेँको मिठो सपना अनि मेलम्चीको मिठो माया; सबै बिर्से।

कुण्ठित आक्रोश र द्वेष लिएर बगेकी मेलम्ची अब सम्झन लायक पनि रहिनन्। उनि बनिन् त केवल नमिठो बिपना। कैयौँका बर्षौदेखीका सपना र सृजनालाई निमेषभरमै निलेर गईन्। मेलम्ची अब नदी रहिनन्- बाढी भईन्।

आखिर मेलम्ची प्रकृति हुन् र प्रकृतिका अगाडि ‘मान्छे को नै हो र?’
मेलम्चीलाई गाँस, बास अनि कपास सोचेर बसेकाहरुको उठिबास लगाएर उनि गईन्। कति निर्मम ! भन्छन बाटो बिराएको नदी सय बर्षमा नि फर्किन्छ रे। उनी त फर्किइन् तर ती मान्छे? ती अब फर्किने छैनन्। मान्छे फर्केलान् तर तिनका मन फर्किने छैनन्।

हरेक बाढी पछी महामारी आउँछ। रोगको मात्र हैन। भोक अनि शोकको पनि। तर राज्य अनि समाजले देख्छ त केवल केही बाढीपीडित। पीडितभित्रका अनगिन्ती पीडा भने कसैले देख्दैन। राहतका नाममा दिइएको एक पोको सामान अनि मुख अगाडी तेर्साइएका दशवटा क्यामेरा। बाढी भन्दा निर्मम्! बाढीले के लग्यो बरु कसैले देखेन तर कसको लग्यो यसपछी चाहीँ सबैले देखे।
आखिर मान्छेले सुख बाड्न सक्छ रे तर दु:ख चाहीँ बाडेँ पनि बाडिँन्न भन्थे, हो रहेछ। मेलम्चीको बाढीमा घरखेत, सम्पत्ती र मान्छे मात्र बगेनन्। त्यहाँ सृजना, सपना अनि भविष्यका योजना सबै बगे। जहाँ जहाँ मेलम्चीले छोएर गईन्, त्यहाँ बन्यो त बस् बगर। उराठलाग्दो बगर!

केही समयपछी मेलम्ची फेरि उस्तै हुनेछिन्। अझै अरु ठाउँ र जीवन ध्वस्त पारी आफ्नो आक्रोश पोखेसी सङ्लिनेछिन्। तर अरुको मन सदाका लागी धमिल्याएर ! त्यसैले उनलाई अब कसैले पुरानी मेलम्ची भनेर सम्झिने छैनन्।
तर मेलम्चीको यो बाढीले मान्छेलाई एक अजीबको पाठ सिकाउछ।

‘सबै नरहे नि मान्छे रह्यो। ऊ आज थाक्छ, भोली थाक्छ तर एकदिन उसले उठ्नैपर्छ। त्यो बाढी आएको दिनको सघंर्ष केवल बाढीसँग मात्र थिएन, प्रकृतिसँग थियो र जो मान्छेले प्रकृतिसँग हारेन उसले जीवनसँग जित्नैपर्छ।’

(लेखक नेपाली सेना स्वास्थ्य विज्ञान सस्थांनमा एमबिबिएस चौथो बर्षमा अध्ययनरत छिन्)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button