
१० साउन २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर । पछिल्लो समय कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि झापाको बिर्तामोडमा साउन १३ गतेदेखि लकडाउन गरिने भएको छ ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार आज दिउँसो नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले साउन १३ देखि १९ गतेसम्म एक साता लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने बैठकले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई कसैले पनि नटेरेकाले नगरपालिकाले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।
बिर्तामोडमा कोरोना संक्रमणको परीक्षण गर्नेहरुमा १८ प्रतिशतलाई संक्रमण देखिएको नगर प्रमुख शिवाकोटीले बताए । बिर्तामोडमा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको सँख्या ३ हजार ३६३ पुगेको छ । अहिले ५४९ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।



