खेलकुद

बायर्न जर्मन सुपर कप च्याम्पियन

भदौ २, २०७८

एजेन्सी – साविकको विजेता बायर्न म्युनिख जर्मन सुपर कप च्याम्पियन बनेको छ । चिर परिचित प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई उसकै मैदानमा ३–१ ले हराउँदै बायर्न लगातार दोस्रो सिजन सुपर कप च्याम्पियन बन्न सफल भएको हो ।

सिग्नल इडुन पार्कमा मंगलबार राति भएको खेलमा बायर्नलाई च्याम्पियन बनाउन पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले खुई तथा थोमस मुलरले एक गोल गरे । घरेलु टोलीका लागि मार्काे रिउसले एक गोल फर्काए ।

सिग्नल इडुना पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलको ४१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले सर्ज गिनाब्रीको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको शुरुमै थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । फेलिक्स पास्लाकको गल्तीमा सर्ज गिनाब्रीले दिएको लो क्रसलाई लेवान्डोस्कीको फ्लिक प्रहारलाई गोलरक्षक ग्रेगर कोवेलले फिंगर टच दिएपनि नजिकै रहेका मुलरले खाली पोस्टमा वान टचमा गोल गर्न सफल भएका थिए।

६४औं मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्काउने संकेत दिए । जुडे बेलिङमको पासमा रिउसले उत्कृष्ट फिनिस गर्न सफल भएका थिए । तर त्यसको १० मिनेटपछि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई जित नजिक पुर्‍याए ।

कोरिन्टन टोलिसोको पासमा लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक कोवेलले रोक्ने कुनै मौका नै पाएन । इन्ज्युरी समयमा एर्लिङ ब्राउट हालान्डले अवसर चुकाउदा डर्टमुन्ड खेलमा फर्कन नसक्दा बायर्न ३–१ को सहज जितसहित च्याम्पियन बन्न सफल भयो ।

बायर्नको यो सिजनको पहिलो उपाधि हो । प्रि–सिजन र बुन्डेसलिगाको पहिलो खेलमा जित निकाल्न नसकेको बायर्नले सुपर कपमा भने जित निकाल्न सफल भएको हो । यस्तै प्रशिक्षक जुलियन नागेल्समानले बायर्नमा पहिलो उपाधि जित्न सफल भए । उनी गत सिजनको अन्त्यसँगै बायर्नको मुख्य प्रशिक्षक बनेका थिए ।

बायर्नले गत सिजन डर्टमुन्डमाथि ३–२ को जित निकाल्दै उपाधि जितेको थियो । जर्मन सुपर कपमा बुन्डेस लिगा च्याम्पियन र डिएफबी पोकल विजेताबीच प्रतिस्पर्धा हुने प्रावधान छ । बायर्न बुन्डेसलिगा तथा डर्टमुन्ड डिएफवी पोकल च्याम्पियन टोली हो ।

डिएफवी सुपर कप र डिएफएल सुपर कपको नामले २२औं सिजन सकिदा बायर्न ९ पटक च्याम्पियन बन्न सफल भएको छ । डर्टमुन्डले ६ पटक उपाधि जितेको छ । वेडर ब्रेमेनले ३ पटक उपाधि जित्दा एफसी काइसरस्लाउटन, भिएफवी स्टुर्टगार्ट र भिएफएल वल्फ्सवर्ग समान एक पटक च्याम्पियन बनेको छ ।

आइनट्राख्ट फ्रान्कफुर्ट दुई पटक तथा ह्यामवर्गर, ह्यानोभर ९६, बायर लिभरकुसन र बोरुसिया मोन्चेनग्लाडवाकले एक पटक फाइनल यात्रा तय गरेपनि उपाधि जित्न सकेका छैनन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button