
भदौ २०, २०७८
एजेन्सी – अष्ट्रियाले घरेलु टोली इजरायलसँग विश्वकप छनोटको खेलमा लज्जास्पद हार बेहोर्दा डेनमार्कले लगातार पाँचौ जित दर्ता गरेको छ ।
अष्ट्रियाले इजरायलसँग ५–२ को फराकिलो हार बेहोरेको हो । इजरायलको फराकिलो जितमा इरान जाहाभीले दुई तथा मानोर सोलोमन, मुनास डाब्बुर र सोन विसमानले समान एक गोल गरे । अष्ट्रियाका क्रिस्टोफ बोउमगार्टनर र मार्काे अर्नाटोभिकले सान्त्वना गोल फर्काए ।
सामी अफर स्टेडियम हाइफा इजरायलमा पहिलो हाफको ३३ मिनेट भित्र नै घरेलु टोली इजरायलले अष्ट्रियामाथि ३–० को आरामदायी अग्रता बनाएको थियो । पाँचौ मिनेटमा मानोर सोलोमनको गोलबाट अग्रता लिएको इजरायलले २०औं मिनेटमा मुनास डाब्बुरको गोलबाट खेलमा अग्रता दोब्बर पारेको थियो।
३३औं मिनेटमा इरान जाहाभीले गोल गरेपछि इजरायलले ३–० को आरामदायी अग्रता लिन सफल भयो । ४२औं मिनेटमा क्रिस्टोफले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को अवस्थामा ल्याए ।
५५औं मिनेटमा मार्काे एर्नाउटोभिचले गोल गर्दै अष्ट्रियालाई ३–२ को अवस्थामा ल्याउँदै खेलमा फर्कने संक दिए । तर ५९औं मिनेटमा सोन विसमानले गोल गर्दै इजरायललाई ४–२ ले अघि बढाए । इन्ज्युरी समयमा इरान जाहाभीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै अष्ट्रियालाई ५–२ को फराकिलो हार चखाए ।
यही समूहको अर्काे खेलमा शीर्षस्थानमा रहेको डेनमार्कले फारोइ आइल्यान्डमाथि १–० को जित दर्ता गर्दै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको छ । डेनमार्कको जितमा जोनास वाइन्डले खेल सकिन ५ मिनेट अघि गरेको गोल नै पर्याप्त बन्यो ।
त्यसअघि ४५औं मिनेटमा उनको गोलले भिएआरबाट मान्यता पाएको थियो । ८४औं मिनेटमा रिनी जोइनसेन दोहोर पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि फारोइ आइल्यान्डले १० खेलाडी सीमित रहेर खेलको अन्त्य गरेको थियो ।
यही समूहको अर्काे खेलमा स्कटल्यान्डले मोल्दोभालाई १–० ले पराजित गरेको छ । स्कटल्यान्डको जितमा लेन्डन डिकेसले १४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यो नतिजा पछि समूह ‘एफ’ मा डेनमार्क ५ खेलबाट १५ अंक जोड्दै शीर्षस्थानमा यथावत छ । इजरायल ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड ८ अंक जोडेर तेस्रो स्थानमा उक्लदा अष्ट्रिया ७ अंक जोडेर चौथो स्थानमा झरेको छ । फारोइ आइल्यान्ड र मोल्दोभा समा १ अंक जोडेर पाँचौ र छैटौ स्थानमा रहेको छ ।hamrokhelkud/from



