
भदौ २१, २०७८
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोट खेलमा जर्मनीले सानदार जित निकालेको छ । घरेलु मैदानमा जर्मनीले अर्मेनियामाथि ६–० को फराकिलो जित निकालेको हो ।
जर्मनीको जितमा सर्ज गिनाब्रीले दुई तथा मार्काे रिउस, टिमो वेर्नर, जोनास होफमान र करिम एडियमीले समान एक गोल गरे । जर्मनीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा दुई गोल थपेको थियो ।
मर्सिडेस बेन्ज एरिना स्टुर्टगार्टमा आइतबार राति गोलको वर्षा भएको खेलमा घरेलु टोली जर्मनीले खेलको छैटौ मिनेटमा सर्ज गिनाब्रीको गोलबाट अग्रता लिएको थियो । उनले लियोन गोरेट्जकाको पासमा गोल गरेका थिए ।
१५औं मिनेटमा मार्काे रिउसको पासमा गिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ३५औं मिनेटमा टिमो वेर्नरको पासमा मार्काे रिउसले गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए । ४५औं मिनेटमा लियोन गोरेट्जकाको पासमा टिमो वेर्नरले गोल गरेपछि जर्मनीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।
५२औं मिनेटमा जोनास होफमानले गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको पहिलो मिनेटमा सब्सिच्युट करिम एडिएमीले गोल गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाए । करिम ७२औं मिनेटमा सर्ज गिनाब्रीको स्थानमा मैदान छिरेका थिए ।
यो जितपछि समूह ‘जे’ मा जर्मनीले अर्मेनियालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । जर्मनीको ५ खेलबाट १२ अंक पुगेको छ । पराजित अर्मेनिया १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा रोमानियाले लिचेस्टाइनमाथि २–० को जित दर्ता गर्दा आइसल्यान्ड र नर्थ म्यासेडोनियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रोमानिया ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नर्थ म्यासेडोनिया ८ अंक जोडेर चौथो स्थानमा रहँदा आइसले ४ अंकसहित पाँचौ स्थानमा रहँदा लिचेस्टाइनले अंकको खाता खोल्न सकेको छैन ।hamrokhelkud/from



