
आइतबार, भदौ २७, २०७८
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगमाथि फराकिलो जित निकालेको छ । बायर्नले घरेलु टोलीमाथि ४–१ को फराकिलो सफलता हात पारेको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, लिरोए साने र एरिक म्याक्सिम चुपो मोटिङले समान एक गोल गरे । घरेलु टोलीका कोनराड लेइमारले एक गोल फर्काए ।
रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको शुरुमै जमल मुसिएलाको गोलबाट बायर्नले अग्रता दोब्बर बनायो । उनले अलफन्सो डाभिसको पासमा गोल गरेका थिए ।
५४औं मिनेटमा लिरोए सानेले जमल मुसिएलाको पासमा गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराए । ५८औं मिनेटमा कोनराड लेइमारले केभिन काम्पलको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत देखाएपनि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट चुपो मोटिङले गोल गर्दै बायर्नलाई ४–१ को सहज जित दिलाए ।
जितपछि अपराजित बायर्न ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । लाइप्जिग ३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।hamrokhelkud/from



