
११ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन
काठमाडौ । विवेकशील साझा पार्टीले आफ्नो राजनीतिक दस्तावेजका रुपमा‘मार्ग परिवर्तन’ पारित गरेको छ । सो पार्टी प्रवक्ता शरदराज पाठकले आज एक विज्ञप्ति सार्वजनकि गर्दै यसको जानकारी गराएकाछन । पाठकद्धारा जारी विज्ञप्तिका अनुसार विवेकशील साझा पार्टीको दुइ तिहाई बहुमतले दस्तावेज पारित गरेको थियो । पार्टी अध्यक्ष रविन्द्र मिश्रले केही दिन अघि ‘मार्ग परिवर्तन’ विचार भन्दा माथि देश भन्ने आफ्नो धारणा सार्वजनिक गरेका थिए । मिश्रले अघि सारेको यही धारणालाई आजको केन्द्रीय समितिको बैठकले पारित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ विज्ञप्ति
प्रेस विज्ञप्ति
विवेकशील साझा केन्द्रीय समितिको दुईतिहाइ बहुमतद्वारा “मार्ग परिवर्तन” दस्ताबेज पारित
विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गर्नुभएको दस्ताबेज “मार्ग परिवर्तन विचारभन्दा माथि देश लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुईतिहाइ भन्दा बढी मतले पारित गरेको छ।
स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।
त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ।
पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।
बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।
शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मिति,११ कार्तिक, २०७८



