खेलकुद

लिभरपुल वेस्ट ह्यामसँग पराजित

कात्तिक २२, २०७८
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले घरेलु मैदानमा लिभरपुल फुटबल क्लबलाई पराजित गरेको छ । लिभरपुल ३-२ ले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमायो । लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो ।

खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो । पाब्लो फोर्नाल्सको कर्नर बचाउने एलिसनको प्रयास सिधै पोस्टभित्र छिरेको थियो । पहिलो हाफकै ४१ औं मिनेटमा लिभरपुल बराबरी गोल फर्काउन सफल रहयो । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा सुन्दर गोल गर्दै लिभरपुललाई खेलमा फर्काए ।

दोस्रो हाफको ६७ औं मिनेटमा फोर्नाल्सले गोल गर्दै अग्रता पुन: स्थापना गरे । उनले काउन्टर अट्याकमा जेरोड बोवेनको पासलाई गोलमा परिणत गरेका थिए । त्यसको ७ मिनेटपछि बोवेनको कर्नरमा कर्ट जौमाले हेडरमा गोल गर्दै वेस्टह्यामको अग्रता दोब्बर पारे ।

खेलको ७ मिनेट बाँकी रहँदा डिभोक ओरिगीले गोल गर्दै लिभरपुल खेलमा फर्कने संकेत दिए । इन्ज्युरी समयमा साडियो मानेले सुवर्ण अवसर खेर फालेपछि लिभरपुल हार बेहोर्न बाध्य भयो ।

यस जितसँगै वेस्ट ह्याम लिभरपुललाई उछिन्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेको छ । लिभरपुलले २२ अंक जोड्ने क्रममा ६ जित, ४ बराबरी र १ हारको नतिजा निकालेको छ। शीर्षस्थानको चेल्सीको २६ अंक छ ।हाम्रो खेलकुदबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button