खबर

भान्सामा सिलिन्डर ‘बम’

काठमाडौं ,कात्तिक २६, २०७८
ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार सुरुमा घरको तेस्रो तलामा बालेर छाडेको दियोबाट पर्दा जली आगलागी भएको देखिन्छ। त्यसपछि चौथो तलास्थित भान्साको सिलिन्डर आगोले भेटेर पड्किएको थियो।

ललितपुरकै हौगालस्थित तामापित्तल वेल्डिङ गर्ने कारखानामा ग्यास सिलिन्डर पड्किँदा घटनास्थलमै एक र उपचारका क्रममा अन्य दुई जनाको मृत्यु भयो। मृत्यु हुनेमा धु्रव ताम्राकार, राजेश ताम्राकार र सुरेश ताम्राकार छन्। यी दुवै घटनाबारे जानकार भीम शाक्यका अनुसार कात्तिक १९ गते एउटा सिलिन्डर भने केही भएको थिएन। ‘आगलागीकै कारण हो भने दुवै सिलिन्डर पड्किनुपर्ने हो’, ललितपुर महानगरपालिका १२ नवाहल टोल सुधार समितिका अध्यक्षसमेत रहेका शाक्य भन्छन्, ‘दुवै घटनामा पड्किएका सिलिन्डर पुरानो र मिति सकिएको भन्ने सूचना पाएको छु।’

उनका अनुसार सिलिन्डर सुरक्षित र नयाँ भइदिए बिस्फोट हुँदैनथ्यो। सुनसरीको इटहरी उपमहानगरपालिका–११ खनारका ८८ वर्षीय दुर्गाप्रसाद काफ्ले पनि १० वर्षअघि यस्तै दुर्घटनामा परेका थिए। हलेसी महादेव दर्शनमा हिँडेका बेला उदयपुर कटारीमा टोलीकी एक महिलाले खाना पकाउने क्रममा एक्कासि ग्यास सिलिन्डरमा आगो बल्यो। उनले पानी ल्याएर खन्याइन्। त्यसपछि बिस्फोट हुँदा काफ्ले गम्भीर घाइते भए। उनी डेढ महिना उपचारपछि निको भए। ती महिलाको भने उपचारका क्रममा मृत्यु भयो।

प्रहरीसँग यस्ता घटनाको तथ्यांक छैन। ‘यस्तो प्रकारका घटनालाई भवितव्यअन्तर्गत राखिने भएकाले तथ्यांक नभएको हो’, प्रहरी प्रवक्ता वसन्त कुँवर भन्छन्, ‘सिलिन्डर पड्किएर भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ। हामीले तथ्यांक संकलन गर्न थालेका छौं।’अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button