पुस ५, २०७८
एजेन्सी – शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकाल्दा शीर्ष दौडमा रहेको लन्डन क्लब चेल्सीले बराबरीको नतिजा निकालेको छ ।
म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई उसकै मैदानमा ४–० को फराकिलो जित निकालेको हो । सिटीको जितमा रुवेन डियास, जोओ क्यान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।
सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा नै रुवेन डियासको गोलबाट सिटीले अग्रता बनाएको थियो । उनले जोओ क्यान्सेलोको पासमा गोल गरेका थिए । २७औं मिनेटमा जोओ क्यान्सेलोले रियाद महारेजको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
६३औं मिनेटमा महारेजले ओलेकसान्दर जिनचेन्कोको पासमा गोल गर्दै सिटीलाई सहज जिततर्फ अघि बढाए । ८६औं मिनेटमा रहिमले गोल गर्दै सिटीको फराकिलो जित पक्का गरे । उनले गाब्रियल जेससको पासमा गोल गरेका थिए ।
जितसँगै शीर्षस्थानमा रहेको सिटीको १८ खेलबाट ४४ अंक पुगेको छ । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई ३ अंकले पछि पारेको छ । लिभरपुल आइतबार राति नै टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । पराजित न्यूक्यासल १० अंक जोडेर १९औं स्थानमा रहेको छ ।
अर्काे खेलमा चेल्सी वल्भ्ससँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीलाई दवावमा राखेपनि चेल्सीले मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यो बराबरीसँगै शीर्ष दौडमा रहेको चेल्सी शीर्षस्थानको सिटीसँग ६ अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग ३ अंकले पछि परिसकेको छ । सिटीको ३८ अंक छ । वल्भ्स २५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।hamrokhelkud/from



