खबर

‘खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरिया’

काठमाडौं ,पुस ५, २०७८

वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले खाडी मुलुकबाट फर्किने अधिकांश कामदार तस्करको भरियाका रूपमा प्रयोग भएको खुलेको जानकारी दिँदै भने, “खाडी मुलुकबाट फर्किने कामदारलाई प्रलोभनमा पारेर सुन बोकाएर पठाउने गरिएको देखिन्छ । यसलाई नियन्त्रण गर्न अपरेसन सञ्चालन गरेका छौँ ।” भरियाका रूपमा प्रयोग भएका कामदारबाट बरामद भएको सुन नियन्त्रणमा लिने र भन्सार तिरेपछि सुन लैजान सकिनेसमेत उहाँले बताउनुभयो।

उहाँका अनुसार सुन ल्याउनेमा पर्यटक भिसा र कामदार भिसा दुवै वर्गका नेपाली छन् । कामदारमध्ये पनि १० प्रतिशतले चाहिँ वैध रूपमै सुन ल्याउने गरेको पाइएको छ । पर्यटक भिसाका पनि १० प्रतिशतले वैध रूपमा ल्याउने गरेका छन् ।
राजस्व छल्ने उद्देश्यले स्रोत नखुलेको सुन विमानस्थल हुँदै नेपाल भित्रिन थालेपछि भन्सार कार्यालयले मङ्सिर १३ गतेदेखि विशेष निगरानी सुरु गरेको छ । सोही दिन २१ किलो अवैध सुन बरामद भएको थियो । पछिल्लो तीन हप्तामा मात्र वैदेशिक रोजगारीबाट फर्किने दुई हजार ६० यात्रुले ल्याएको १०६ किलो सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ । गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button