
१२ पुस २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा ।नेकपा एमाले निकट युवाहरुको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको मेचीनगर कमिटि गठनमा तिब्र बिवाद देखिएको छ । बिवादकै बिच गठन भएको युवा संघ मेचीनगरमा अहिले फरक फरक नेतृत्वमा दुई कमिटि समेत गठन भएका छन ।
एमाले नगर पार्टी नेतृत्व र युवा संघको नगर कार्यदलबीचमा नै बिवाद उत्पन्न भए पछि दुई वटा समानान्तर कमिटि गठन भएको राष्ट्रिय युवा संघका एक नेताले बताए । युवा संघको कार्यदलले कमिटि गठन गर्ने प्रस्तावमा दुई जना सदस्यहरु राजु धिमाल र दुर्गा धमलाले असहमति जनाए पछि नगर पार्टी नेतृत्वले हस्तक्षेप गरेर मानबहादुर तामाङको नेतृत्वमा युवा संघ मेचीनगर कमिटि गठन गरे पछि विवाद बढेको एक थरिको आरोप रहेको छ ।
‘ कार्यदलका केही सदस्य र पार्टी नेतृत्वले युवाहरुको भावना बिपरित जबरजस्ती कमिटि गठन भएकाले समस्या जन्मिएको कृष्ण श्रेष्ठ पक्षधरहरुको आरोप रहेको छ ।
तामाङको अध्यक्षता गठन भएको कमिटिको उपाध्यक्षमा कृष्ण श्रेष्ठ, सचिवमा श्याम सिवाकोटी, उपसचिवमा विवेक खवास र कोषाध्यक्षमा न्यूटन कार्की चयन भएका छन ।
त्यस्तै युवाहरुको भेलाले गठन गरेको अर्को कमिटिमा अध्यक्ष कृष्ण श्रेष्ठ, उपाध्यक्ष रतन लिम्बु, सचिव तिलक श्रेष्ठ, उपसचिव सरोज खड्का र कोषाध्यक्षमा विनिता मोक्तान रहेका छन ।
तामाङको अध्यक्षता गठन भएको कमिटिको नै राष्ट्रिय युवा संघ मेचीनगरको आधिकारिक कमिटि भएको एमाले मेचीनगरका इन्चार्ज तथा युवा संघ नगर कमिटि गठनका लागि अध्यक्ष मण्डलका संयोजक देवकुमार राईले बताए ।
पुष १६ गते राष्ट्रिय युवा संघ मेचीनगरको कमिटि घोषणा गर्ने कार्यक्रम तय भएको भए पनि त्यस अघि नै पार्टी नेतृत्वको हस्तक्षेपमा कमिटि गठन गरेर सार्वजनिक गरेका कारण युवाहरुको भेलाले तामाङ नेतृत्वको कमिटिलाई अमान्य भन्दै श्रेष्ठको नेतृत्वमा नयाँ कमिटि गठन गरेको श्रेष्ठ पक्षधरहरुको तर्क छ ।
मेचीनगरमा युवा संघमा देखिएको यो विवाद एमाले भित्र हिजोका माधव नेपाल पक्षधर र केपी ओली पक्षधरहरु बीचको अप्रत्यक्ष राजनीतिक जुहारी शुरु भएको अनुमान गर्न सकिन्छ । युवा संघ मेचीनगरमा गठन भएका दुई युवा संघका कमिटि कुन आधिकारिक हो भनेर आफुहरु अन्यौलमा परेको युवा संघकै सदस्यहरु बताउछन् । मानबहादुर तामाङ्ग नेतृत्वलाई आधिकारिक मान्नु पर्ने एक थरि एमाले स्थानिय नेताहरुको तर्क छ भने नगरका आम युवा संघका कार्यकर्ताहरुको भावनालाई समेटेर लैजानु पर्ने जिकिर गर्छन् एमालेकै कृष्ण श्रेष्ठ पक्षधर स्थानीय नेताहरु । युवा संघ मेचीनगरमा देखिएको यो कमिटि गठनको विवाद अप्रत्यक्ष रुपमा अध्यक्ष ओली र हिजो माधव नेपाल पक्षधर स्थानीय नेताहरु बीचको राजनीतिक खेल भएको सहजै अड्कल गर्न सकिन्छ ।



