
पुस १२, २०७८
काठमाडौं, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि नेपाली समाज वर्गीय अन्तर्विरोधबाट अघि बढिरहेको बताएका छन् ।
पार्टीको आठौँ महाधिवेशन अन्तरगत सोमबारबाट सुरु भएको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिमा पराजित सामन्ती तत्त्वहरू दलाल नोकरशाही पुँजीपतिको पक्षपोषण गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागेको बताएका हुन् । ‘कम्युनिस्ट क्रान्तिकारीहरू राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त लोकतान्त्रिक शक्तिहरू संविधानको पक्षमा अगाडि बढिरहेका छन्’, अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिमा देखा परेका प्रवृत्तिको विश्लेषण गरेका छन् ।
नेपालको राजनीतिक आन्दोलनको विकास र इतिहासको चर्चा गर्दै प्रचण्डले सशस्त्र विद्रोह, जनआन्दोलन, मधेस आन्दोलन हुँदै जनवादी क्रान्तिको विकास भएको प्रचण्डको भनाइ छ । उनले आफ्नो प्रतिवेदनमा जनयुद्ध र १९ दिने शान्तिपूर्ण जनआन्दोलनको बलमा सामन्तवादको अवशेषका रूपमा रहेको राजतन्त्र ढलेको पनि बताएका छन् । जसलाई प्रचण्डले नेपाली जनताको विजयका रूपमा लिएका छन् ।झिल्को डटकम



