मूल खबर

३३ प्रतिशत महिला पुर्‍याउन देउवालाई सकस,१० मनोनितमा २ महिला परे

१८ पुष २०७८

काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ ।

अब मनोनित गर्न २३ जना बाँकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब १२ जना महिला मनोनित गर्नुपर्नेछ । कांग्रेस विधानमा ३३ जना सदस्य मनोनित गर्ने व्यवस्था छ । जसमध्ये सभापति देउवाले शनिबार १० जना रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनित गर्नुभएको छ । १० मध्ये २ जना महिला परेका छन् ।

यसअघि, कार्यसमितिमा सभापतिसहित १ सय ३५ जना निर्वाचित हुँदा महिलाको संख्या ४१ थियो । निर्वाचित हुने ४१ जनामा सहमहामन्त्री एक, महिला खुलातर्फ ९, प्रत्येक प्रदेशबाट महिला कोटाबाट आएका ७, खसआर्य महिलातर्फ ६, आदिवासी जनजाति महिलातर्फका ७, मधेसी महिलातर्फका ४, दलित महिलातर्फका ४, थारु महिलातर्फ २ र मुस्लिम महिलातर्फ १ गरी जम्मा ४१ जना निर्वाचित भएका थिए । निर्वाचित सबै आरक्षण कोटाबाट मात्र आएका हुन् ।

आरक्षण र मनोनितबाहेक महिलाको संख्या शून्य रहेको कांग्रेस केन्द्रीय समितिमा पदाधिकारीमा एकमात्र महिला छन् । कांग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठसहित १३ पदाधिकारी रहन्छन् । कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्याउन अब २३ जना मनोनित गर्दा १२ जना महिला मनोनित गर्नुपर्ने भएकाले सभापति देउवालाई सकस परेको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

‘प्रमुख नेतृत्व तहमा महिला हुनुपर्ने आवाज उठिरहेका बेला सत्तासीन प्रमुख राजनीतिक दलको केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला पनि नभए राम्रो सन्देश जाँदैन’ केन्द्रीय सदस्य डा. डिला संग्रौला भन्नुहुन्छ– ‘अब मनोनित गर्दा आधाभन्दा बढी महिलाको संख्या राख्नुपर्ने हुन्छ ।’ अब २३ जनामा १२ जना महिला मनोनित गर्नुपर्ने दबाबमा रहेका सभापति देउवा समावेशीताको वकातल गरेर कहिल्यै नथाक्ने नेता हुन् ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button