कृषि र किसान

निरन्तर वर्षा र हिमपात भइरहेको बेला किसानले आफ्नो बालीको सुरक्षा कसरी गर्ने ?

कृषि सल्लाह खाद्यान्नबाली

– साताको शुरुमा देशका धेरैजसो स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेकोले हिउँदे बाली लगाइएको खेत/बारीमा
पानी जम्न नदिन निकासको उचित व्यवस्था गर्नुहोस्।

– तराई, भित्री मधेश र पहाडका बेंसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते५ र चैते-६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्। ब्याड बनाउँदा १ मीटर चौडाई र जमीन हेरी लम्बाई कायम गर्न सकिने तथा दुई ब्याडको बिचमा ४०-५० से.मी. (२ बित्ता) को नाली बनाउनुहोस्।

– चैते धानको ब्याड बनाउनु अघि राम्ररी पाकेको कम्पोष्ट वा गोबर मल २-२.५ के.जी., युरिया ४ ग्राम, डि.ए.पी. ९ ग्राम तथा पोटास ५ ग्राम प्रति वर्ग मीटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्।

– साताको शुरुमा देशका धेरैजसो स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेकोले साताको मध्यतिर मेसिन (राईस ट्रान्सप्लान्टर) बाट धान रोप्नका लागि बेर्ना तयारी गर्दा विशेष ध्यान दिनुहोस्। यसबारे विस्तृत जानकारी अनुसूची-२ मा दिईएको छ।

– वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ व्यवस्था गर्नुहोस्।

– विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखा पर्न थालेको हुँदा आफ्नो खेतबारीमा नियमित अवलोकन गरी रोग देखिएमा नजिकको कृषि विज्ञहरुलाई जानकारी गराई व्यवस्थापनको लागि सल्लाह लिनुहोस्।

– तोरीबाली तथा आलुबालीमा लाही कीरा लागे-नलागेको नियमित अनुगमन पहेंलो स्टिकि ट्रयाप (yellow sticky trap) बाट गर्नुहोस्।

– बीउ उत्पादनको लागि रोपिएको मूला र रायो बालीका साथै तोरीबाली तथा काउली समूहका तरकारी बालीमा लाग्ने अल्टरनेरिया डढुवा रोगको प्रकोप कम गर्न मेन्कोजेवयुक्त विषादीडाइथेन एम-४५ दुई ग्राम प्रति लिटर पानीका दरले छर्कनुहोस्।

– तराईका जिल्लाहरुमा मुसुरो बालीमा डढुवा रोगको प्रकोप देखिन सक्ने हुँदा नियमित अनुगमन गर्नुहोस्।

फलफूल बाली

– यो समयमा फलफूल बाली (मेवा, आँप, आदि) का बोटमा मिली बगको प्रकोप हुने भएकोले बगैंचाको नियमित अवलोकन गर्नुहोस्। यसको व्यवस्थापनको लागि बगैंचाको सरसफाईमा ध्यान दिनुको साथै बोटको मुल काण्डको १ फीट माथि चारैतिर लेसिलो पट्टि [ रेजिन वा ग्रीजमा अडीर (कास्टर) को तेल मिसाएर ] लगाएमा वा ४०० गेजको २५ से.मी. चौडा बाक्लो पहेंलो प्लाष्टिकलाई बोटको फेदमा बाँध्नाले कीराहरु उक्लेर जान सक्दैनन्। साथै सर्वो तेल १०-१५ एम.एल. प्रति लिटर पानीमा घोली बोटको फेद (मिली बग भएको स्थान) भिज्नेगरी छकँदा यसको नोक्सानी कम हुन्छ।

– किविफल, स्याउ, नासपाती जस्ता फलफूलमा २ वर्षभन्दा पुराना हाँगाहरुमा फल नलाग्ने हुनाले यसै हप्ताभित्र काँटछाँट र्नुहोस्।

– सबै प्रकारका फलफूलमा मलखाद राख्ने उपयुक्त समय भएकोले सिफारिस गरिएको मात्रा मिलाई मलखाद राख्नुहोस्।

– पतझड फलफूलको बिरुवालाई खाडलको बिचमा कलमी गरिएको भाग नपुरिने गरि बिरुवा सार्नुहोस्।

– जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।

– केराको गवारो (Rhizome Weevil) को व्यवस्थापनको लागि फल टिपीसकेपछि रहेको केराको थामलाई सफा पारेर व्यवस्थापन गर्नुहोस् र बगैंचा सरसफाई गर्नुहोस्। कीरालाई पासो बनाई आकर्षित गरी नष्ट गर्नुहोस्।

– तराईका जिल्लाहरुमा चिसोको कारण केराको गुवो मर्ने/डढ्ने/कुहिने र पसाउन लागेको बुङ्गो बाहिर निस्कन नसक्ने समस्या देखिन सक्छ। यस्तो समस्या ठण्डी/कुहिरो/अति चिसोको कारणले हुन सक्ने भएकोले बुङ्गोलाई सेतो प्लाष्टिकले बेरिदिनुहोस्।

तरकारी बाली

साताको शुरूमा तराईका धेरैजसो स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना भएकोले साताको मध्य र अन्त्यमा तराई, भित्री मधेश तथा बेंशीमा परिपक्क भईसकेको आलुलाई माटोमा चिस्यानको अवस्था हेरी खन्नुहोस्।

– खनिसकेको आलुलाई अँध्यारो, सुख्खा र चिसो (छोटो समयको लागि १० डिग्री सेल्सियस भन्दा कम र लामो समयको लागि तथा बीउ भण्डारणका लागि २-४ डिग्री सेल्सियस तापक्रममा) ठाँउमा काठका बाकस, प्लाष्टिकका क्रेट -याकमा फिंजाएर राख्नुहोस्। यसरी राख्दा दुई तहको बिचमा पत्रिका ओछ्याएर राख्नुहोस्। लामो समयसम्म भण्डारण गर्नुपुर्व आलुलाई क्युरींग गर्नाले बोक्रा बाक्लिन्छ र दानामा रहेको धुलो पनि सुक्छ।

– बोक्रा बाक्लो भएको, राम्रोसंग ओभाएको, चोट नलागेको, नकुहिएको र रोगकीराले क्षति नपुर्याएको २५ देखि ५० ग्राम तौल भएका आलुदानालाई बीउको रूपमा छनोट गरी जुटको पातलो बोरामा प्याक गरी कोल्ड स्टोरमा राख्नुहोस्। भण्डारण गरिने बोराको भित्र र बाहिर कृषकको नाम, आलुको जात, बीउको स्तर, खायन वा बीउ के प्रयोजनका लागि हो छुट्टिने गरी लेवल लगाएर कोल्डस्टोरमा भण्डारण गर्नुहोस्।

– आलुको भण्डारणमा लाग्ने पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा ज्यादा नोक्सानी गर्ने भएतापनि आलु खनिसकेपछि खेतमा नै थुपारेर राख्दा जोताहा कीराले पुतलीले फुल पार्ने र भण्डारणमा नोक्सानी गर्ने भएकोले खन्ने बेलामा सावधानी अपनाउनुहोस्।

– साताको शुरू र अन्त्यमा उच्च पहाडी/हिमाली भु-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात/बर्षाको सम्भावना भएको हुनाले टुसाउन राखिएको बीउ आलुको नियमित अनुगमन गर्नुहोस्।

– उच्चपहाडमा फाल्गुण-चैत्रमा गरिने आलु खेतीका लागि आवश्यक बीउ र मलखादको उपलब्धता सुनिश्चित गर्नुहोस्।

– आगामी साताको मौसम आलु तथा गोलभेंडाको पछौटे डढुवा रोगको लागि अनुकूल रहने संभावना भएकोले नियमित अनुगमन गर्नुहोस्। यसबारे विस्तृत जानकारी अनुसूची-३ मा दिइएको छ।

– गोलभेंडामा पात खन्ने कीरा (Tuta absoluta) को अनुगमन गरि व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।

– गोलभेडामा लाग्ने गवारो (Fruit borer) कीरा व्यवस्थापनको लागी १० ग्राम भेली प्रति लिटर पानीमा मिसाई बनाएको घोलमा HaNPV (हेली एन.पि.भी.) २५० LE को १.५ एम.एल. हालेर साँझको समयमा स्प्रे गर्नुहोस्, अथवा व्याक्टेरियाजन्य (बी.टी.) Bt (डाईपेल, बायोलेप) ३ ग्राम प्रति लिटर पानीमा मिसाएर साँझको समयमा स्प्रे गर्नुहोस्, अथवा क्लोरानट्रानिलिप्रोल (कोराजेन) १८.५ इ.सि. ०.४ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि स्प्रे गर्नुहोस्। साथै कीराले नोक्सानी
गरेका फलहरु संकलन गरी खाडलमा पुर्नुहोस्।

– लहरे तरकारीको नर्सरी ब्याडमा बेर्ना उम्रिसकेपछि सेतो प्लास्टिकको छानोलाई वर्षाको अवस्था हेरी दिनको समयमा उघार्ने र रातीको समयमा छानो ओढाउनुहोस्। • मध्यपहाडी क्षेत्रमा लहरे तरकारी बालीहरुको पोलीब्यागमा बेर्ना तयार गर्नुहोस्।halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button