
धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले सशस्त्र प्रहरी हवल्दार र जवान गरी दुई जनालाई घुससहित पक्राउ गरेको छ।
शुक्रबार साढे १२ बजे भारतबाट आउने सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको २० हजार घुससहित रंगेहात पक्राउ गरेको हो । कैलालीको भजनी नगरपालिका–१ बाट उनीहरुलाई पक्राउ गरिएको हो ।
अख्तियार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख प्रेम बस्नेतले सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतिराम चौधरीलाई विशेष सूचनाका आधारमा सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिए ।



