खबर

सुकुम्बासी बस्तीमा लायन्सले दियो दशैंको खुशी

दमक/झापाको गौरादह नगरपालिका वडा नं २ डिठठ चोकस्थित सुकुम्बासी बस्तीका २२ परिवारलाई लायन्स क्लब गौरादहले दशैं विशेष खाद्यन्न सहयोग गरेको छ ।
गौरादह २ का वडाध्यक्ष हेमन्त कार्कीको प्रमुख आतिथ्यमा क्लबले आज दशैंको फुलपातीको अवसर पारेर विपन्नहरुलाई दशैं विशेष खाद्यन्नका रुपमा मासु, चिउरा, भुजा लगायतका खानेकुराहरु प्रदान गरेको हो ।

क्लबका अध्यक्ष जीवन राईको अध्यक्षतामा भएको खाद्यन्न सहयोग कार्यक्रममा प्रमुख अतिथी कार्की, क्लबका निवर्तमान अध्यक्ष तथा स्थानीय सामाजिक युवा व्यक्तित्व भुपाल कट्वाल, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश कार्की लगायत क्लबका पदाधिकारी, सदस्यहरु सहभागी भएका थिए ।

सुकुम्बासी तथा विपन्नहरु आर्थिक विपन्नताका बाबजुद आफूहरुलाई लायन्स क्लबले दशैंमा खुशी भित्र्याईदिएको भन्दै हर्षीत देखिन्थे । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको घोषित कार्यक्रम अनुसार सबै लायन्स क्लबहरुले आआफ्नो क्षेत्रमा खाद्यन्न वितरणको कार्यक्रम गरिरहेका बताइएको छ ।

लायन्स क्लब दमक इष्टर्न लायनले समेत सोहि कार्यक्रम अनुसार दमक ४ स्थित रत्न बृद्ध आश्रमका बृद्धबृद्धाहरुलाई हिजो खाद्यन्न सामग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष तुल्सीराम तिम्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button