आमा करिब तीन महिनादेखि ओछ्यानमा हुनुहुन्छ । बुझ्ने भाषामा भन्दा आमा यता न उताको जस्तो अवस्थामा संसारभित्र रहनु भएको छ । मैले बुझेदेखिनै हाम्री आमा कम्युनिष्ट हुन । शायद पञ्चकालमा त्यो बेलाका पञ्चहरुले दुःख दिएर होला आमाले पञ्चायती व्यवस्था र पञ्चहरुप्रति कहिले पनि निको मान्नु भएन। हाम्री आमाका भाषामा भन्दा आमा पञ्चहरुलाई मुन्नले भन्नु हुन्थ्यो । मुन्नले कहिले पनि नहुनु भन्नु हुन्थ्यो ।आमाले जानेको कम्युनिष्ट भनेको एमाले नै हो ,उहाँले भोट हाल्ने भनेको सूर्य चिन्हनै हो, उहाँले जानेको र चिनेको नेता भनेको मनमोहन अधिकारीनै हो ।जहाँ सम्म मलाई लाग्छ मनमोहनका पालामा सरकारले ल्याएको बृद्ध—बृद्धा भत्ताकै कारण आमाले झन् मजाले मनमोहनलाई चिन्नु भयो होला । अहिले हो कि भरे हो जस्तो अवस्थामा आमा हुनुहुन्छ । अस्तिको दिन आमा केही बोल्ने अवस्थामा हुनुहुन्थ्यो , आमालाई मैले फरक विषय सुनाउनु प¥यो भनेर कानमै गएर भनेँ— आमा चुनाउ आयो भोट कसलाई दिनु हुन्छ भनेँ ,आमाले भन्नु भयो एमालेलाई, मैले किन भनेँ— मनमोहनको हो भन्नु भयो , आमाले आफ्नो पुरानो ईमानका साथ आफ्ना निरन्तरतालाई यो अवस्थामा अभिव्यक्त गरिरहँदा बाहिर त मैले भन्न सकिन मनमनै भनेँ—आमा न त्यो पार्टी अब मनमोहन हुँदाको जस्तो छ, न त्यो पुरानो एमाले जस्तो छ । मैले आमालाई भनिदिएँ — ल आमा अब सूर्यमा नै भोट हाल्नु पर्छ , आमाले ईशाराले ल भन्नु भयो ।
तर, मैले आमालाई हिजोको एमाले र आजको एमालेका बारेमा धेरै भन्नु थियो तर अहिले उहाँ सुन्न सक्ने अवस्थामा हुनुहुन्न नत भोट दिन जाने कुनै अवस्था नै छ ।आमाका यी भनाईले मलाई धेरै बेर सोच्न बाध्य बनायो के एमालेले हिजोको आफ्ना साख आज मेरी आमा जस्तै हजारौँ आमाहरुले सोचे जस्तै जोगाएको छ त ? हिजो मनमोहनका पालामा ल्याएको एउटै कार्यक्रम जो ठूलो पहाड थिएन सानै भएपनि हजारौँ आमा र बुबाहरुको प्यारो भयो र भएको छ अस्ति झण्डै दुईतिहाईको सरकार छँदा ल्यायो त ? बरु त्यसको उल्टो संसद विघटन भयो अनि भएको एउटा ढिको पनि फुटेर तीन टुक्रा भयो ! मैले यो सब आमालाई भन्ने अवस्था थिएन । मलाई विश्वास छ मेरी आमा ठिक हुनुहुन्छ , पटकपटक एमालेको सूर्यलाई मतदान गर्ने मेरी आमालाई मैले एउटा सत्य भन्न पाउँछु भन्ने मलाई लागेको छ । भएको जे हो र जे छ अर्थात हिजोको एमाले र आजको एमालेका बारेमा ।
0 31 1 minute read


