काठमाडौं । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले अन्ततः सत्ता गठबन्धनका सहयात्रीबीच चुनावी तालमेल गर्ने निर्णय औपचारिक रूपमै गरेको छ। नेताहरू शेखर कोइराला, धनराज गुरुङ, गगन थापा लगायतले अनिच्छा गरेपनि स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको संस्थागत निर्णयले गठबन्धनमा खुशी छाएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकले गरेको निर्णयले गठबन्धन बिरोधी धारको मुख बन्द गराइदिएको छ। गठबन्धन सम्बन्धि निर्णयको प्रस्ताव महामन्त्रीद्वय बिश्वप्रकाश शर्मा र गगन थापाले तयार पारेका थिए, तालमेलबिरुद्ध बोल्दै आएका थापा स्वयं प्रस्ताव तयार पार्न बाध्य हुनु पार्टी बहुमतको निर्णयको प्रभाव हो। कांग्रेसको यो निर्णयसंगै प्रदेश र संघको चुनावमा समेत गठबन्धन हुने निश्चितप्रायः छ।
‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।
बैठकले उपसभापति पूर्णबहादुर खड्कको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै डा। प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ।



