एजेन्सी – इटालियन क्लब रोमाले युरोपा कन्फ्रेन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा हार बेहोर्दा इंग्लिस क्लब लेस्टर सिटी बराबरीमा रोकिएको छ ।
सुरुवाती अग्रता जोगाउन नसक्दा रोमा नर्वेजियन क्लब बोडो/ग्लिम्टसँग २–१ ले पराजित भएको हो । घरेलु मैदानमा बोडो/ग्लिम्टको जितमा अलरिक साल्टनेस र ह्युगो भेटलेसेनले गोल गरे । रोमाका लोरेन्जो पेलेग्रेनीको गोल सान्त्वना बन्यो ।
नर्वेमा बिहीबार राति भएको खेलको ४३औं मिनेटमा लोरेन्जो पेलेग्रेनीको गोलबाट रोमाले सुरुवाती अग्रता लिएको थियो । उनले हेनरिक मिखटरयानको पासमा गोल गर्न सफल भएका थिए । तर रोमाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।
५६औं मिनेटमा अलरिक साल्टनेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा ह्युगो भेटलेसेनले गोल गर्दै बोडो/ग्लिम्टलाई २–१ को पूनरागमन जित दिलाए ।
यो जितसँगै बोडो/ग्लिम्टको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बोडो/ग्लिम्ट सेमिफाइनलमा प्रवेश गर्नेछ । रोमालाई कम्तीमा पनि २–० को जितको खाँचो छ । १–० को जितले पनि रोमाको अवे गोलको आधारमा अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । दोस्रो लेग रोमाको मैदानमा १४ अप्रिलमा हुनेछ ।
यस्तै कन्फ्रेन्स लिगकै अर्काे खेलमा इंग्लिस क्लब लेस्टर सिटी घरेलु मैदानमा डच क्लब पिएसभी इन्डोभेनसँग गोलरहित बराबरीमा रोकिएको छ । दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपायेग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
यो बराबरीे दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । अब १४ अप्रिलमा हुने दोस्रो लेगमा जित हात पार्ने टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
अन्य नतिजा
फियोनुर्डविरुद्ध स्लाभिया प्राहा (३–३) र मार्सेविरुद्ध पाओक (२–१)हाम्रो खेलकुदबाट ।



