मूल खबर

जीवन गौतमको बहिर्गमनले माओवादीमा तरङ्ग

काठमाडौं। दाङ जिल्लाका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य जीवन गौतमले आइतवार पत्रकार सम्मेलन नै गरेर पार्टी छाडेपछि माओवादी केन्द्रमा तरङ्ग आएको छ। यता पेरिसडाँडाको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विप्लव समेत अन्ततः माओवादी केन्द्रमा समाहित हुने दाबी गरिरहदा गौतम जत्तिका जुझारु नेताले किन पार्टी छाडे होलान्? ‘माओवादी केन्द्र कम्युनिष्ट रहेन।’ पार्टी छाड्नुको संक्षेपीकरण गर्दै गौतमले भने-‘सबै स्वार्थपरक गुटबन्दी र पैसा कमाउने धन्दामा छन् ।’

गौतम संसदबाट एमसीसी पास भएलगत्तै पार्टी छाड्न चाहन्थे। नेता नारायणकाजी श्रेष्ठ र लीलामणि पोखरेल लगायतले एमसीसी पास भए पार्टीमा नरहने बताएको सन्दर्भबाट उत्साहित उनी त्यस लगत्तैका भेलाहरूमा नयाँ पार्टी बन्नुपर्नेमा दत्तचित्त भएर लागे। एकताकेन्द्र-मसाल पृष्ठभुमिका उनी एमसीसी लगत्तैको नारायणकाजी पक्षधर भेलाले प्रचण्डसंग बिद्रोह गरेर नयाँ पार्टी बनाउँछ भन्ने बिश्वासमा थिए।

‘गठबन्धनको नाममा म भोलि मेयर, सांसद वा मन्त्री बनौंला। झण्डा हल्लाएर हिंडौंला। तर म झुपडीमै रमाउन चाहन्छु। देशप्रति सौदा गरेर म ठूलो हुनु छैन। हामी देशपक्षधर क्रान्तिकारी हौं भने अब यो पार्टीमा बसिरहनुको औचित्य छैन। आजै ध्रुवीकरणको झण्डा उचालौं।’ उक्त भेलामा उनले भनेका थिए। माओवादी केन्द्रभित्रको एकताकेन्द्र-मसाल, त्यसमा पनि नारायणकाजी पक्षधर त्यो भेलाका ८० प्रतिशतभन्दा बढी नेताकार्यकर्ताहरू पार्टी बिभाजन गर्ने पक्षमा थिए। जसको मनोबैज्ञानिक नेतृत्व गौतमले नै गरेका थिए।

गिरिराजमणि पोखरेल जत्तिका एकताकेन्द्रवाला संगठनको बैचारिक र ब्यबस्थापकीय नेता समेत एमसीसीले पार्टीमा पराकाष्ठा निम्त्याएकोले अब बिभाजनको बिकल्प छैन भन्ने बिन्दुमा पुगेका थिए। बिभाजनको लगभग औपचारिक निर्णय हुँदैगर्दा अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा सबै स्वयंसेवी भएको र आफ्नो राजनीतिक निर्णय गर्ने छुट नारायणकाजीलाई पनि भएको बताएर झन फुटको वातावरण निर्माण गरिदिएका तिए। तर लगत्तै प्रचण्डले गलत बोलेको महशुस गरेपछि र प्रचण्डसंगको घनिभुत छलफलपछि स्थानीय निर्वाचनसम्म पार्टी अन्तरबिरोधबारे बाहिरी बहस नगर्नेगरी माओवादीमा अल्पकालीन एकता कायम भयो।

यसरी पार्टीले निर्णय गरेअनुसार केन्द्रीय सदस्यले पालना गर्नुपर्ने नियमबिरुद्ध गएर एक्लै पार्टी छाड्ने निर्णय गौतमले गरे। यही सन्दर्भले हो, माओवादी केन्द्रलाई तरंगीत बनाएको। जीवन गौतम, जसले एक असल कम्युनिष्ट कार्यकर्ताका रूपमा र विद्यार्थी राजनीतिमा समेत योगेश भट्टराई, डाचाराज वाग्ले, रबिन्द्र अधिकारी, राजेन्द्र राई, रुपनारायण श्रेष्ठ, बिश्वप्रकाश शर्मा, गुरु घिमिरे, प्रकाश पोखरेल र गगन थापा संगसंगै भएर गणतन्त्रमा योगदान दिए, उनले जनयुद्धमार्फत गणतन्त्र ल्याउने प्रमुख हिस्सेदार र आफुलाई गणतन्त्रको सबैभन्दा बढी अपनत्व भएको बताउने पार्टी माओवादी केन्द्र किन छोडे?

माओवादी केन्द्रको भविष्यका लागि माथिको प्रश्न अत्यन्तै प्रतिकुल छ। खासमा माओवादी केन्द्रको पूर्व एकताकेन्द्र-मसालवाला धारा पार्टीभित्र किंकर्तब्यबिमुढ देखिदैछ। नारायणकाजी र गिरिराजमणि नै लागेको भए गौतमलाई रोक्न नसक्ने थिएनन्। परिवेश यस्तो बनेको छ कि माओवादी धारले ज्यानको बाजि थापेर जनयुद्ध गरेपनि र त्यो जनयुद्धभर जनयुद्धलाई सामाजिक फासिवादी रुझान भनेर एकताकेन्द्रवालाले गाली गरेपनि शान्तिप्रक्रिया, पार्टी एकता, दुईपटकको संबिधानसभा निर्वाचन र नयाँ संबिधान आएपछि माओवादीवाला भन्दा एकताकेन्द्रवाला बढी क्रान्तिकारी देखिदैछन्। कतिपय माओवादीवालाको गैर सर्वहारावादी ब्यबहारले समेत त्यो वातावरण निर्माण भएको देखिन्छ।

कम्युनिष्ट मुल्यपद्धतिको र सिद्धान्तको कुरा यहींनेर जोडिन्छ। एमसीसी पारित भएको चरणमा नारायणकाजीले लीलामणिलाई अनौपचारिक सोधेको प्रसंग समेत उल्लेख्य छ। ‘लीलाजी नयाँ पार्टी बनाउनुपर्ने भयो। तपाईंले साथ दिनुपर्‍यो’ भन्दा लीलामणिले ‘गुट ध्रुवीकरणको पक्षमा म छुइन, तपाईंले कमसेकम हाम्रो पार्टीका माओवादी धाराका र झलनाथ जस्ता एमसीसी बिरोधी समेतलाई ध्रुवीकृत गर्ने हो भने मेरो साथ रहन्छ।’ भन्ने जवाफ नारायणकाजीलाई दिएका थिए। नारायणजाजीले त्यसरी पहल लिए, लिएनन् तर त्यसको जानजारी नभैकनै माओवादी केन्द्र एकजुट भैसकेको जानकारी आयो।

स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनले महानगर र उपमहानगरमा चुनावी तालमेल मिलाउदैगर्दा घोराही उपमहानगरपालिका, दाङमा माओवादी केन्द्रबाट मेयरका प्रमुख दावेदार गौतमले पार्टी छाडेका छन्। बुझ्नेहरूका अनुसार मेयर पद नपाउने देखेरै पार्टी छाड्ने चिन्तन प्रवृत्तिका त गौतम होइनन्। उनी एक आदर्श राजनीतिक परिवारका सदस्य हुन्। उनका बुवा बासुदेव गौतम ‘संजीब’ तत्कालीन चौममै केन्द्रीय सदस्य भैसकेका तर नेताका ब्यबहारसंग असन्तुष्ट भएर निजि जीवन बिताइरहेका ब्यक्तित्व हुन्। जीवन गौतमको बिद्रोहको सांकेतिक अर्थ प्रष्ट छ। माओवादी पतनको बाटोमा गैसकेकोले क्रान्तिको सपनामा रहेका एकताकेन्द्र-मसालवाला बैचारिक भावधाराका युवाहरू आफुसंगै ध्रुवीकृत हुन् भन्ने चाहन्छन् उनी।

उनका पुराना बैचारिक सहकर्मी एवं विप्लव माओवादीका केन्द्रीय सदस्य चितवनका सन्देश पौडेलले ‘गौतमले माओवादी केन्द्र छाडेकोमा’ सामाजिक संजालमा खुशी व्यक्त गरेपनि पुरानै रुढ कम्युनिष्ट र्‍यालसिंगान बोक्ने तर अवसरको लागि जतापनि ढल्किन सक्ने आरोप खेप्दैगरेका विप्लव नेकपामा गौतम पक्कै जानेछैनन्। बरु एकताकेन्द्र-मसालवाला बैचारिक युवाले बढी नै बिश्वास र अपेक्षाको दृष्टिले हेर्ने गरेको आहुतिको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नै गौतमको पनि गन्तब्य हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button