
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा उम्मेद्वार र राजनितिक दलहरु बिच स्वस्थ प्रतिस्पर्धाको संस्कृतिका लागि ७ बुँदे प्रस्ताव अघि सार्नु भएको छ ।
शुक्रबार काँग्रेस केन्द्रिय कार्यालयमा नेपाल सांस्कृतिक संघद्वारा आयोजित निर्वाचन प्रतिस्पर्धामा कस्तो संस्कृति बिषयक बिचार गोष्ठीमा बोल्दै महामन्त्री शर्माले चुनावी प्रचारलाई संयमित र मैत्रीपूर्ण बनाउनु पर्नेमा जोड दिंदै ७ बुदें प्रस्ताव अघि सार्नु भएको हो ।
शर्माले प्रस्ताव गर्नु भएको ७ बुंदे प्रस्ताव निम्नानुसार रहेको छ ।
१) प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढंगले अघि बढाऔं ।
२) हरेक दलले विगतमा जे जस्ता गल्ती र कमजोरी जे गरेका छौं जनता समक्ष आत्मालोचना गरौं । नदोर्होयाउने संकल्प र प्रतिबद्धता गरौं ।
३) स्वस्थ र तथ्यपुर्ण आलोचना गरौं, आपसलाई गाली नगरौं । प्रतिस्पर्धी उम्मेदवारलाई दुश्मन नठानौं, मित्रवत व्यवहार गरौं अनि निर्वाचनलाई स्वस्थ बनाउन सहकार्य गरौं ।
४) जनतालाई धेरै सपना नदेखाऔं । धेरै सपना देखाउने, पूरा गर्न नसक्ने र जनतालाई निराश बनाउने गलत प्रवृत्ति अन्त्य गरौं । यो पाँच बर्षमा गर्न जरुरी काम र गर्न सक्ने काम सोचौं, बोलौं, गरौं ।
५) आचारसंहिता (संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको सिमा भित्र) पालना आफू गरौं , अरुलाई पालना गर्न प्रेरित गरौं ।
६) अपारदर्शी फजुल खर्च होइन, पारदर्शी र मितब्ययी ढंगले खर्च गरौं । पैसा नहुनेले चुनाव लड्न नसक्नेझ बन्दै गएको छवि र स्थिति अन्त्य गर्न गम्भीर बनौं। उम्मेदवारको आर्थिक र पारिवारिक जिवनको पारदर्शिता खोजौं, राखौं ।
७) मतगणनामा जिम्मेवार बनौं, मत परिणामलाई हार्दिक ढंगले स्वीकार गरौं । स्वस्थ संस्कृतिको जगमा आजको लोकतान्त्रिक व्यवस्थाप्रती जनताको विश्वास अझ बलियो बनाउन तर्फ लागौं ।सेतोपत्र अनलाइनबाट ।



