मूल खबर

मेचीनगर–४ संयुक्त गठबन्धनको साझा प्रतिवद्धताः उत्कृष्ट कृषकलाई सम्मानदेखि हात्ती प्रकोप नियन्त्रणसम्म

मेचीनगर । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र मेचीनगर ४ का संयुक्त गठबन्धनले साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा नेपाली काँग्रेसका पुराना कार्यकर्ता स्व. पर्शुराम लुइँटेलकी धर्मपत्नी विष्णुमाया लुइँटेल, समाजसेवी तथा पशुपति माविका प्रधानाध्यापक स्व. टेकबहादुर बरालकी धर्मपत्नी मेनुका बराल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पोषककुमार दर्जी, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्का र मेचीनगर–४ का निवर्तमान वडाध्यक्ष नवीन बराललगायतको उपस्थिति रहेको थियो ।
प्रतिवद्धता पत्रमा कृषि, पर्यटन, हात्ती नियन्त्रण, स्वास्थ्य, युवा तथा खेलकुद, महिला तथा बालबालिका, शिक्षा समेटिएका छन् ।
प्रतिवद्धता पत्रमा जंगली हात्ती प्रकोपलाई नियन्त्रण गर्न सोलार फेन्सिङका कर्मचारीलाई प्राविधिक रुपमा दक्ष बनाई अझ व्यवस्थित गरी दीर्घकालीन समस्या समाधान गर्ने, होमस्टेलाई प्रोेत्साहन गरी कृषि पर्यटनलाई प्राथमिकतामा राख्ने, कृषकलाई मल र विउ सर्वसुलभ तरिकाले उपलब्ध गराउने, उत्कृष्ट कृषकलाई सम्मान गर्ने उल्लेख छ । सुशासन र आर्थिक पारदर्शीताका लागि प्रत्येक ६÷६ महिनामा सार्वजनिक सुनुवाई गर्ने, एसईई दिएर बसेका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम, महिला तथा बालबालिकालाई ६÷६ महिना निःशुल्क स्वास्थ्य परीक्षण, सामुदायिक विद्यालयमा कक्षा १२ सम्म पढ्ने विद्यार्थीलाई यातायात खर्च दिइँदै आएको कार्यलाई निरन्तरता दिँदै पशुपति मावि, सरस्वती मावि र दिपेन्द्र आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालनका लागि व्यवस्था गरी निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
मेचीनगर ४ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा निरज घिमिरे, महिला सदस्यमा मञ्जीता तामाङ, दलित महिला सदस्यमा कमला दर्जी, वडा सदस्यमा रेगन थापा, नेकपा माओवादी केन्द्रबाट खगेन्द्र विक रामुदामु चुनावी मैदानमा छन् ।
नेकपा माओवादी केन्द्र अध्यक्ष थिरप्रसाद गौतम (राम) को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली काँग्रेसका वडा सचिव नित्यानन्द चौलागाईले गरेका थिए ।जनसंसद दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button