
एजेन्सी – फरवार्ड पाब्लो सारावियाको गोलमा स्पेनले युइएफए नेसन्स लिग ए ग्रुप २ मा पहिलो जित निकालेको छ । स्पेनले स्वीट्जरल्यान्डलाई १–० को हराएको हो ।
स्वीट्जरल्यान्डमा बिहीबार राति भएको खेलमा स्पेनको जितमा पहिलो हाफमा पाब्लो सारावियाले गरेको गोल नै निर्णायक बन्यो । उनले १३औं मिनेटमा मार्काेस लोरेन्टेको पासमा गोल गर्न सफल भएका थिए ।
घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि स्पेनले त्यसपछि थप गोल निकाल्न नसक्दा पहिलो हाफमा पाब्लोले गरेको गोल नै निर्णायक बन्यो ।
यो जितसँगै नेसन्स लिगमा पहिलो जित निकालेको स्पेन ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । स्पेनले यसअघि पोर्चुगलसँग १–१ गोलको तथा चेक रिपब्लिकसँग २–२ गोलको बराबरी खेलेको थियो । पराजित स्वीट्जरल्यान्डले अंकको खाता खोल्न सकेको छैन ।
यो समूहमा अपराजित पोर्चुगल ७ अंक जोडेर शीर्षस्थानमा रहँदा चेक रिपब्लिक ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पोर्चुगलले बिहीबार राति चेक रिपब्लिकलाई २–० ले पराजित गर्दै छनोटमा अपराजित रहेको छ ।हाम्रो खेलकुदबाट ।



