विचार

जय नेपाल भन्दैमा जागरण आउँदैन

एक जना काँग्रेसलाई मायाँ गर्ने मित्रले एकदिन गफगाफमा भनेको थिए ‘ हाम्रो पार्टी नेपाली काँग्रेस अरु भन्दा यसर्थ पनि फरक छ कि अरु बेला चुपचाप लागेर भेला, बैठक र सभामा पुगेपछि जय नेपाल है साथीहरु भनेपछि पुग्छ ’ । उनको यो भनाईमा म पनि सतप्रतिशत सहमत भएँ। मेरा पनि धेरै साथीहरु नेपाली काँग्रेसमा समेटिएकाछन् कम्युनिष्ट भन्ने पार्टीका कार्यकर्ताहरुको तुलनामा पार्टी संगठन र पार्टीका काममा केन्द्रको काँग्रेसको काम गर्ने शैलीका कारण हो वा काँग्रेसको कामनै यस्तै हो काँग्रेसका कार्यकर्ताको लय लोसे खालकै देख्छु । बिशेष कार्यक्रम र चुनावका बेला बाहेक संगठन निमार्ण र जनतासँग सम्बन्ध बिस्तार गर्ने कार्यमा अरु पार्टी भन्दा कम्युनिष्ट भन्ने पार्टीहरुनै अगाडि देखिन्छन् ।हुनत कम्युनिष्टहरुको पुरानो परम्परागत पार्टी निमार्ण र बिस्तारको ढाँचालाई संझने हो भने उनीहरुपनि अहिले भाई काँग्रेस जस्तै जस्तै भाका टिपिसकेकाछन् तर पनि पार्टीलाई चलायामान बनाउने कुरामा भने आजका मिति सम्म पनि कम्युनिष्ट भन्नेकै अग्रता देखिन्छ ।
मैले सुनेजाने सम्मको कुरा गर्दा नेपाली काँग्रेसको नीति भनेको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र भनौँ या लोकतन्त्र र समाजबाद भन्ने सुनेको छु । तर, आफ्नो सैद्धान्तिक नीति र कार्यक्रमका बारेमा धेरै काँग्रेसका कार्यकर्ता समेत अलमलमा परेको देखिन्छ । बहुदलिय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको पक्षधर काँग्रेसले गरेको यू टर्नबाट यो पार्टीको कार्यनीति र रणनीतिक सिद्धान्त कस्तो खालको हो भन्न समेत कठिन छ । ढिलो चाडो जे भएपनि नेपाली काँग्रेसले भर्खरै आफ्नो केन्द्रीय कार्यक्रम अनुसार देशभरि जागरण अभियान संचालन गरेको थियो । तर, यदाकदा बाहेक त्यो अभियानमा नेपाली काँग्रेसले अख्तियार गरेको विचार, सिद्धान्त र दर्शनको स्पष्ट ब्याख्या र जनतासँगको सम्बन्धको बाटो भन्दा पनि सरकारको आलोचना र चुनाबी हारकै विषयमा चर्चा चलाईएको देखियो । अक्सर काँग्रेसीजनहरु नेपाली काँग्रेसले बिपिको विचार बोकेको भन्ने गर्छन् तर बिपिले बोकेको विचारमा के के छ र के के छैन भन्ने कुरा निक्कै गतिला काँग्रेस हुँ भन्नेलाई समेत पक्का गरि थाहा छ जस्तो मलाई लाग्दैन ।
नेपाली काँग्रेस पार्टी र उसका कार्यकर्ताहरु बीचको सम्बन्धलाई हेर्ने हो भने यो नेतामूखि पार्टी भन्ने बझ्न सकिन्छ र सिङ्गो पार्टी पनि आम जनतासँगको घुलनशिल सम्बन्ध भन्दा तलका कार्यकर्ताहरुको आडभरमा रहेको पाईन्छ । बिगतदेखिनै गुटमा धानीरहेको काँग्रेस आज पर्यन्त यही बाटोमा बगेको छ ।यसको अर्थ यो होइन कि अरु पार्टीहरुमा गुट छैन भन्ने । गुटकै कुरा गर्ने हो भने नेपालका पार्टीका बारेमा लेख्न शुरु गर्ने हो भने विचार र सिद्धान्त भन्दा धेरै पहिला गुट र उप गुटकै ईतिहास लेख्नु पर्ने अवस्था छ । नेपाली काँग्रेस पनि यो गुट र उप गुटको क्रोनिक डिजिजबाट मुक्त हुन सकेको छैन । तर काँग्रेसले गरेको यो पछिल्लो जागरण अभियानले गएको चुनावबाट होचोबाट पुड्को हुन लागेको काँग्रैस फेरि होचो बन्ने बाटोमा लागेको सत्यतालाई स्विकार्नै पर्छ तर गर्न त काँग्रेसले ग¥यो , जागरण अभियान पनि गरेकै हो तर धेरै तिरका कार्यक्रम हेर्दा जनतासँगको सम्बन्धलाई नयाँ आयामबाट बिस्तार गर्ने ध्याउन्न भन्दा पनि जय नेपालनै धेर ग¥यो जस्तो देखिन्छ ।
हुनत संसदीय पूजिबादी ब्यबस्थाकै चरित्र पनि यस्तै हुन्छ कि यो ब्यबस्थामा आम जनताको आधारभूत समस्याको पक्षमा भन्दा पनि संसदीय पार्टीहरुले पनि निश्चित र लोकप्रिय नारा बोकेर मुख्य लक्ष्य भनेको जसरी पनि सत्तामा पुग्नेनै हो र जे र जसरी पनि सत्ता प्राप्तिका लागि सबै प्रकारका दाउ पेच लगाउने हुनाले दिर्घकालिन जन सम्बन्धमा उति धेरै जोड गरिदैन । फेरि पनि पार्टी र जनतासँगको सम्बन्धलाई छ है मात्र भन्न लागि भएपनि कार्यकर्ताहरुको परिचालन बेलाबखतमा भने गर्नुनै पर्छ तर लामो समय सम्म सत्ताको स्वाद चाखेको नेपाली काँग्रेसले फेरि पनि उहि लोसे पारालाई छाडेको छैन ।
काँगे्रसका लागि यो समय भनेको निक्कै महत्वको समय हो । बिगतमा भएको निर्वाचनको पराजयलाई मिहिन रुपले समिक्षा गरेर आफ्नो स्पष्ट सैद्धान्तिक र वैचारिक धारणाका साथ गाउँ पस्ने ऐनमौका हो भन्ने कुरा काँग्रेसले शायद बुझेको छ या जे होला चुनावमै होला भन्ने पुरानै शैलीमा ढुक्क भएर काँग्रेस बसेको हो त्यो काँग्रेसनै जानोस । तर, भर्खरै समापन भएको जागरण अभियानको समिक्षा सहित फेरि एक पटक नेपाली काँग्रेस मेचीदेखि महाकाली सम्म आफ्नो सफेद एैना बोकेर साँच्चै जाग्यो भने भोलीका दिन यो काँग्रेसका लागि आजको आलष्यता र पराजयको पीडा उल्लासमा रुपान्तरण हुने संभावना यसकारण पनि छ कि नेपाली काँग्रेस प्रति हिजोका दिनमा जनताले भरोसा गरेर दिएको समर्थन भोली फेरि नपाउने के कुरा छ र ? तर पहिला नेपाली काँग्रेस आफै स्पष्ट हुनु प¥यो कि अब किन देश र जनतालाई काँग्रेस चाहिन्छ ? वास्तवमा नेपाली काँग्रेस के हो ? किन जनताले अब काँग्रेसलाई भरोसा गर्ने ? जस्ता धेरै विषयमा काँग्रेसका नेताहरुको जनतासँगको सम्बन्धलाई जोड्ने विश्वासिलो आधार निमार्ण हुनु प¥यो ।
कतिपय काँग्रेसका साथीहरुको कुरा सुन्ने गर्छु र उनीहरु भन्छन् हामीले केही भन्नु पर्दैन यो सरकारको कामकारबाहीबाटै जनता वाक्क हुन थालेकाछन् यसले चुनावका बेलामा गरेका वाचाहरु आज सबै भुलेको छ जनताले अब कुरो बुझिसकेकाछन् तर यो केटाकेटी सोच र तर्क बाहेक अरु केही पनि होइन । आफ्नो कुरो प्रस्ट राख्न नसकेर अरुका कमोजोरी र खराबीले आफ्ना कमजोरी ढाक्न खोज्नु भनेको अर्को ठूलो भुल हो भन्ने सत्यलाई बेलैमा काँग्रेसका नेता र कार्यकर्ताले बुझे हुन्छ । हिजोका दिन नेपाली काँग्रेसले कति पटक सत्तामा बसेर सरकार चलायो र के के ग¥यो त्यो पनि हेरेरनै जनताले यस पटक सजाय गरका हुन् भन्ने कुरा पनि ख्याल गर्नु पर्छ । जनतालाई चित्त बुझ्ने र जनमूखि काम गरेको भए आज काँग्रेसले पनि यति धेरै रोनाधोना गर्नु पर्ने थिएन । आजको नेपालका जनता नेताको चेहेरा हेरेर होइन त्यसको मति र गति हेरेर आफ्ना प्रतिनिधि छान्न सक्ने भएकाछन् । जसले जनहितका काम गर्छ जनताको समर्थन उसैलाई हुन्छ र अब जनताले लिपिपोती गरेका घोषणा पात्र हेरेर होइन देश र जनताको भलो गर्ने बरु टर्रो र रुखो बोली भएको सरकारनै छान्छन् यसर्थ नेपाली काँग्रेसले पहिला हिजोका दिनमा आफुले गरेका कमिकमजोरीको निर्मम आत्म समिक्षा गरेर अबको बाटो र जनताले भरोसा र पत्याउन खालको जनमन जित्ने कार्यक्रमलाई बोक्न आबाश्यक छ । नेतै पिच्छेका विचार र गुटै पिच्छेका झुण्डलाई फेरि पनि काँग्रेसले बोक्न थाल्ने हो भने भोलीका दिनमा प्रजापरिषदको जस्तो हविगत नहोला भन्न सकिदैन ।
नेपाली राजनीतिको बिगतको ईतिहासलाई बीचमा राखेर हेर्ने हो भने नेपाली काँग्रेसले गरेको आन्दोलन र परिवर्तनको यात्रालाई कसैले पनि कम आँक्न मिल्दैन भलै काँग्रेसले यो बीचमा धेरै कमजोरी गरेको छ तर ईतिहासको सत्यतालाई जो कसैले पनि नकार्न मिल्दैन तर वर्तमान आएर हेर्दा काँग्रेस धेरै पटक आफै अन्यौल र रनभूल्लमा परेको देखिन्छ । प्रजातान्त्रिक समाजबादलाई आफ्नो पथ मान्ने काँग्रेस भित्र एकता खल्बलिएको महशुष स्वयम् काँग्रेसले पनि नस्विकारि धर छैन तर अझै पनि नेपाली काँग्रेससँग मौका छ , यो पार्टीमा धेरै प्रतिबद्ध कार्यकर्ता र विचार भएका नेताहरु पनि छन् । तर, गुट र उपगुटको जाँतोमा आज धेरै राम्रा मान्छेहरु पनि ओझेलमा देखिन्छन् यति हुदाहुदै पनि यो समयलाई एक मुष्ठ काँग्रेसले संकल्पका साथ दृड ईच्छा शक्ति र ईमानपूर्वक जनतामाझ आफ्ना बिगतका कमजोरी सहित गयो भने वर्तमान सरकारको भोलीको बिकल्प भनेको नेपाली काँग्रेसनै हो भन्ने कुरा लुकाउनु पर्दैन तर जय नेपालको आदर सम्मान काँगे्रसका कार्यक्रममा भनेर गजक्क परेर मात्र केही पनि हुदैन भन्ने कुरा सबै काँग्रेसले बुझ्न जरुरी भने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button