मूल खबरस्वास्थ्य

चिकित्सकको अटेरीले बेहाल

झापा / खटाएको ठाउँमा नजाने चिकित्सकका अघि नियमनकारी निकायहरु लाचार बन्दा प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाको बेहाल भएको छ । चिकित्सकहरुको लापरबाहीलाई संघ, प्रदेश र स्थानीय सरकारसहितका निकायहरुले वेवास्ता गर्दाको मूल्य सर्वसाधारण विरामीले सास्ती खेपेर चुकाउनु परिरहेको छ । आफ्नै घरगाउँका स्वास्थ्यसंस्थामा उपचार सेवा नपाएपछि विरामी महँगो मुल्य तिरेर नीजि अस्पताल धाउन बाध्य छन् ।

कर्मचारी समायोजनका क्रममा खटिएका चिकित्सकहरु अझै पनि कार्यक्षेत्र पुगेका छैनन् । उनीहरुको अनुपस्थितिले जिल्ला तथा स्थानीय स्तरका अस्पतालको वेहाल भएको छ । समायोजन भएका डाक्टर तथा कर्मचारी गइसके पनि नयाँ आउनहरु नआउँदा अस्पतालले प्रदान गर्ने सेवासमेत अवरुद्ध हुन थालेको छ ।
प्रदेश १ का धेरै अस्पताल डाक्टरविहीन छन् । केही अस्पतालमा थोरै संख्यामा डाक्टर भए पनि प्राविधिक कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । समायोजन भएर आउने डाक्टर तथा स्वास्थ्य सेवाका कर्मचारी समयमै हाजीर नहुँदा प्रदेश १ का अधिकांश अस्पतालको सेवा प्रभावित भएको छ । मोरङको रंगेलीस्थित रंगेली अस्पतालमा प्रविधिक जनशक्ती र विशेषज्ञ डाक्टर नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ । डाक्टर अभावका कारण अस्पतालले प्रदान गर्दै आएको आमा सुरक्षा कार्यक्रमसमेत प्रभावित भएको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसुती सेवा लिन आउनेहरूलाईसमेत विराटनगर रिफर गर्ने गरिएको अस्पतालका सूचना अधिकारी गोविन्द बहादुर कटुवालले जानकारी दिए । अस्पतालमा उपकरण र पूर्वाधार भए पनि डाक्टर र प्राविधिक जनशक्तीको अभावमा त्यस्ता उपकरण प्रयोगमा आउन नसकेको कटुवालले बताए । उनले भने‘ अस्पतालमा शल्यक्रिया, आइसीयु, एनआइसीयु, पीआइसीयुलगायतका सेवा प्रदान गर्न सकिने पूर्वाधार र उपकरण भए पनि विशेषज्ञ डाक्टर र प्राविधिक जनशक्ती छैनन् ।’
विगतमा जिल्ला अस्पतालका रुपमा रहेको रंगेली अस्पताल हाल स्थानिय तहको मातहतमा आए पछि प्राथमिक अस्पतालका रुपमा घटुवा भएको छ । यतिमात्रै हैन अस्पतालको दरबन्दीसमेत कटौति भएको छ । विगतमा ४६ जनाको दरबन्दी भएको रंगेली अस्पतालको दरवन्दी कटौति गरेर २८मा झारिएको छ । रंगेली अस्पतालमा उपचार गर्न आउने सेवाग्राही भने अस्पतालमा सेवा पाउन नसकेर राजधानी विराटनगर धाउन बाध्य भएका छन् । ‘गाउँका अस्पतालमा डाक्टर आउन मान्दैनन्’रंगेली —७ का संजय राजवंशीले भने,‘डाक्टर भेट्न विराटनगरकै अस्पताल पुग्नु पर्ने अवस्था छ ।’
भौतिक पूर्वाधार पर्याप्त भएर पनि विशेषज्ञ डाक्टर अभावले सधैंजसो ‘रेफर सेन्टर’मात्रै बनिरहेको इलाम अस्पताल पछिल्लो समय कर्मचारी समायोजनले डाक्टरविहीन हुँदैछ । यहाँ कार्यरत विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी संघमा समायोजन भएपछि सरुवा भएर जाँदैछन् ।
अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा रहेका स्त्रीरोग विशेषज्ञ डा.पवनजंग रायमाझी सरुवा भएर काठमाडौं जाँदैछन् । अर्की विशेषज्ञ डा.दीपिका रिजाल फाजिलमा परेकाले उनको यहाँ रहने टुंगो छैन । करार सेवामा रहेका भीम चौहान यहाँबाट प्राथमिक स्वास्थ्य केन्द्रमा सरुवा हुने तर्खरमा रहेपछि इलाम अस्पताल डाक्टरबिहीन हुँदैछ । ‘मलाई त चिठी आइसकेको छ, अरू साथीहरू पनि समायोजनमा परिसकेकाले यहाँ बस्ने–नबस्ने टुंगो छैन,’ डा.रायमाझीले भने, ‘अहिले केही दिन बिरामीलाई सेवा दिन बसिरहेका छौं ।’ १५ चिकित्सकको दरबन्दी रहेको इलाम अस्पतालमा अहिले आफूसहित ५ चिकित्सकले सेवा दिइरहेको उनले बताए ।
असिस्टेन्ट हेल्थ वर्करसहित अस्पतालको आकस्मिक सेवाका ४ स्वास्थ्यकर्मी समायोजनमा संघमै परेका छन् । आकस्मिक सेवाकै २ स्वास्थ्यकर्मी फाजिलमा परेका छन् । चिकित्सक नै नभएका कारण अस्पतालमा प्रसूतिबाहेक ठूलो शल्यक्रियासमेत हुन नसकेको प्रमुख रायमाझीले बताए । ‘इलाममा प्रसूतिको शल्यक्रिया पनि इलाम अस्पतालमा मात्रै हुन्छ,’ उनले भने, ‘अरू सामान्य अपरेसन चाहिँ हुन्छ ।’
दैनिक २ सय बिरामी आइरहेको इलाम अस्पतालमा इन्टर्नसिपका लागि आएका विद्यार्थीले सेवा दिइरहेका छन् । ‘डाक्टरलाई देखाउन (जँचाउन) भनेर अस्पताल आयो, भर्खरका विद्यार्थीले पो जाँचेजस्तो गर्छन्,’ बिरामीका आफन्त सन्तोष तामाङले गुनासो पोखे, ‘बिरामी भएर अस्पताल आउँदा विशेषज्ञले उपचार गर्नुपर्दैन ? यस्तो लापरबाही गर्न पाइन्छ ?’
इलाम अस्पतालमात्र होइन, १–१ विशेषज्ञ डाक्टरको दरबन्दी रहेका जिल्लाका ४ प्राथमिक स्वास्थ्य केन्द्र (प्रास्वाके) पनि डाक्टरविहीन हुने सम्भावना बढेको छ । महिनामा ५ सयभन्दा बढी बिरामी आउने प्याङ प्रास्वाकेमा कार्यरत डा.फिपराज विकको संघमै समायोजन भएको छ । ३ डाक्टर कार्यरत रहेकामा १ जना अध्ययन र अर्का एकजना बेतलबी बिदामा रहेकाले अहिले डा.विकमात्रै कार्यरत रहेको माइजोगमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजशंकर देवले बताए ।
पशुपतिनगर प्रास्वाकेमा रहेका विशेषज्ञ डाक्टर पनि समायोजनमा संघमै परेकाले उनको स्थान रिक्त रहने भएको छ । बिरामीको चाप अत्यधिक रहने फिक्कल प्रास्वाकेमा चाहिँ भर्खरै समायोजन भएर आएका डाक्टर कार्यरत रहेको सूर्याेदय नगरपालिकाका स्वास्थ्य शाखाका विपुल अधिकारीले जानकारी दिए । आर्थिक वर्ष २०७५÷०७६ मा यी दुई प्रास्वाकेमा ५१ हजार १ सय १ बिरामीले उपचार गराएको तथ्यांक छ । इलाम अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट आउने तयारीमा रहेको बताए । ‘दसैंअघिसम्ममा आवश्यकताअनुसार स्वास्थ्यकर्मीको दरबन्दी पूरा गर्ने प्रयासमा छौं,’ उनले भने ।
जिल्ला अस्पताल पाँचथरका प्रमुख डा. वुद्धिवहादुर थापाको अन्य जिल्लाको अस्पतामा समायोजन भएपछि यहाँ को आउने भन्ने यकिन छैन । मेडिकल सुपरिटेण्डेन पदमा यहाँ को आउने हो भन्ने पत्र आएको छैन । थापा नहुदा अप्रेशन प्रसुती सेवा जिल्ला अस्पतालमा हुदैन । एकजनामात्र विशेषज्ञ डाक्टर हुँदा यो समस्या भोग्दै आएको छ । यहाँ भएका डाक्टरहरु मध्ये दुई जना करारका बाहेकको समायोजन भएको छ । तर यहाँ को को डाँक्टरहरु आउनु हुन्छ भन्ने कुनै जानकारी प्राप्त नभएको अस्पतालका सूचना अधिकारी नारायण जोशिले बताए ।
जिल्ला अस्पतालमा प्रसुती बाहेक साना किसिमकामात्र शल्यक्रिया हुने गर्छ । जिल्लासँग पूर्वी पहाडका बासिन्दाले विशेषज्ञको स्वास्थ्य सुविधा लिनका लागि तराईका महंगा नीजि अस्पतालमा पुग्नु पर्ने बाध्यता जस्ताको तेस्तै छ ।
संघियताको प्राप्तीपछि तीनै तहको सरकार बनेपछि स्वास्थ्य सुविधमा ठोस परिवर्तन हुन सकेको छैन । ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा सामान्य रुघा, खोकिकोमात्र उपचार हुन्छ । रवि र गोपेटार बजारमा रहेको प्राथमिक स्वास्थ्यकेन्द्रमा पनि सामान्य रोगकोमात्र उपचार हुने गर्छ। जिल्ला अस्पतालमा विभिन्न प्रकृतिका अप्रेशन गर्न सकिने भएपनि विशेषज्ञ, प्रविधिको अभावमा सम्भव नभएको सूचना अधिकारी जोशि बताउँछन् । एपेण्डी साईड, हर्निया लगायतको रोगको अप्रेशन केहि समय अगाडी भएपनि जनशक्तिको अभावमा यसले निरन्तरता पाउन सकिरहेको छैन । ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा प्रविधि र जनशक्तिको अभाव छ । सदरमुकामको अस्पतालमा पनि यस्तै समस्याले गाजेको छ । तराईका महंगा अस्पतालमा पुग्नु पर्ने बाध्यतामा जिल्लाबासी रहेका छन् । जिल्लामा रहेका नीजि अस्पतालहरुमा पनि ठुलो सुविधा देखिदैन ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button