मूल खबर

नगरको बजेट जनमूखि भन्दा पनि कर्मचारी खुशी पार्ने , सञ्चारमैत्री भएन

मेचीनगर । मेचीनगर नगरपालिकाले विहीबार नगर सभामार्फत प्रस्तुत गरेको बजेट जनमूखि भन्दा नगरका  कर्मचारीलाई खुशी पार्ने गरि
ल्याइएको छ ।
उपप्रमुख मीना पोखरेलले प्रस्तुत गरेको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ कर्मचारी शीर्षकमा १४ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ । जस अन्तर्गत कर्मचारीको पारिश्रमिकमा ५ करोड ६० लाख, करार सेवामा कार्यरत कर्मचारीको तलब वापत ५ करोड ५० लाख, कर्मचारी पोशाकमा ३० लाख, औषधी उपचार खर्च ५ लाख, महंगी भत्ता २५ लाख, कर्मचारी प्रात्साहन तथा पुरस्कार ३ लाख, कर्मचारी कल्याण कोषमा २ कारोड ७० लाख, कर्मचारी इन्धन ३० लाख र कर्मचारी भ्रमण खर्च वापत १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँकोको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ मात्रै कुल २१ करोड ७२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीलाई सेवा सुविधा दिने कुरामा मेचीनगर उदार देखिएको छ । तर, अन्य शीर्षकमा भने विगत भन्दा घटाएर बजेट विनियोजन गरिएको छ ।

नगरसभा बारे पत्रकारले पत्तो पाएनन् !
मेचीनगर नगरपालिकाले विहीबारको नगर सभामा सञ्चारकर्मीलाई थाहा नदिई बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको नगर सभा नगर कार्यालयमा सम्पन्न भएको हो ।


हरेक वर्ष नगरले बजेट सार्वजनिक गर्दा आम सञ्चाकर्मीलाई बोलाउने प्रचलनलाई यसपाली लत्याइएको छ । जनतालाई सही जानकारी र सूसुचित गराउन सञ्चारमाध्यमलाई रिपोर्टिङ गर्न आमन्त्रण गरिन्छ । तर, मेचीनगरले विहीबार सञ्चारकर्मीलाई खबर नै गरेन । जसका कारण आम मेचीनगरबासीले जानकारी पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
केही पत्रकार ‘नगर सभा अरे’ भन्दै नगरपालिका पुगेका थिए । तर, केही क्षण बसेर उनीहरु फर्किएका थिए । नगर सभामा पुगेका मेचीनगरका एक सञ्चारकर्मीले भने, ‘स्थानीय सरकारले सूचनाको हकमा बन्देज लगाउने काम भएको जस्तो देखियो । जसले गर्दा आम नगरबासीलाई सही सूचना दिन नसक्ने अवस्था सिर्जित भएको छ ।’
आम नगरबासीको भाग्य र भविष्य जोडिएको बजेट प्रस्तुत हुने कार्यक्रममा नगर क्षेत्र भित्रै सञ्चारकर्मीहरुलाई थाहा नदिनु भनेको कतै मेचीनगर नगरपालिकाले सूचनाको हकमाथि ‘नाकी कस्दै त छैन’ भन्ने आशंका पनि जन्मन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button