
सम्पादकीय
अपेक्षा थियो आउनु भएका जनप्रतिनिधिहरुको दृष्टि मेचीनगर क्षेत्रका संचार माध्याम र सञ्चारकर्मीहरु प्रति असल होला भन्ने , अपेक्षा थियो कलम चलाएर जिविका चलाउनेहरुप्रति हाम्रा जनप्रतिनिधिहरु सकारात्मक पक्कै बन्नु हुन्छ भन्ने अनि आशा थियो आउनु भएका जनप्रतिनिधिहरुले मेचीनगरमा संचार नीति वा कार्यविधि ल्याएर यहाँका संचारकर्मीहरुसँग सहकार्य गर्दै आगामी दिनमा हाम्रो र राम्रो मेचीनगर निमार्णको यात्रामा मेचीनगर नगरपालिकालाई संचारमैत्री नगरको रुपमा विकास गर्नु हुन्छ भन्ने तर बिहिबारको नगर सभाको बजेट प्रस्तुत कार्यक्रमले यहाँका आम संचारकर्मीहरुलाई पहिलो गाँसमै ढुङ्गा परेको छ ! मेचीनगरपालिकाले संचार नीति र कार्यविधि ल्याउनु त परैजाओस मेचीनगर नगरपालिकाको नगर सभा(जहाँ बजेट प्रस्तुत हुन्छ)मा सम्म पत्रकारहरुलाई सामान्य जानकारी समेत नदिनु आफैमा उदेकको विषय बनेको छ । नगरपालिकाको औपचारिक त्यो पनि महत्वपूर्ण कार्यक्रममा सामान्यतया सामाजिक सञ्जालमार्फत सम्म निम्तो दिन समेत कञ्जुस गर्नुले मेचीनगर नगरपालिका यहाँका संचार माध्याम र संचारकर्मीहरुप्रति कस्तो दुष्टि र व्यबहार गर्छ भन्ने पुष्टि समेत गरेको छ । आम बुझाईमा नगरसभा मार्फत हुने बजेटको प्रस्तुति भनेको यहाँका आम नागरिकसँग समेत जोडिएको हुन्छ र यसको आफ्नै महत्व हुन्छ । नगरको बजेटका बारेमा बुझ्ने अधिकार आम नगरवासीको हुन्छ तर नागरिक सम्म सुचना पु¥याउने संचारमाध्यामलाई समेत सामान्य जानकारी नदिनु भनेको अप्रत्यक्ष रुपमा सुचना लुकाउनु सरह नै हुन्छ होला यसर्थ नागरिकको अधिकार प्रति समेत मेचीनगर जिम्मेवार देखिएन भन्दा अन्यथा नहोला



