खबर

भुजेल बस्तीमा खानेपानी, आँगनमा धारा झरेपछि खुसियाली

गोरखापत्र अनलाइन
बाबुराम शर्मा

चरीकोट । अहिलेसम्म कसैको दृष्टि नपुगेको दोलखाको शैलुङ गाउँपालिका–४, चिनाखोरियाका खानेपानीको अभाव झेल्दै आएका २२ घर भुजेल परिवार घरआँगनमै खानेपानी प्रयोग गर्न पाएपछि खुसी भएका छन् ।

खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाबाट छरछरे चिनाखोरिया खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएर घरआँगनमै खानेपानी प्रयोग गर्न पाएपछि उनीहरू खुसीले भएका ९७ वर्षीया रत्नकुमारी भुजेलले बताउनुभयो ।

‘नमरी बाँचे हरिया बुट्टा देख्न पाइन्छ’ भन्ने उखानझैँ जिन्दगीमा काकाकुल अवस्थाबाट यो अवस्था देख्न पाइएला भनेर दस मनमा एक मनले पनि सोचेको थिएन, भुजेलले भन्नुभयो, “बाबुबाजेको पालादेखि पानी प्रयोग गर्न नपाएकाले अहिले शुद्ध पानी घरघरमा प्रयोग गर्न पाएका छन् । निमुखा गरिबको पनि दिन आउँदोरहेछ । बर्खाको धमिलो र हिउँदमा दुई घण्टा पैदल हिँडेर पानी बोकेर पिउनुपर्ने बाध्यता हटेको छ ।”

जीवन भनेकै पानी रहेछ । उहाँले भन्नुभयो, “महिलालाई धेरै पानी चाहिने, पानीको हाहाकारले थोरै पानीले धान्नुपथ्र्यो । कपडा धुने, नुहाउने काम दिन माया मारेर हप्तामा एक पटक खोलामै पुग्नुपर्थ्याे । बस्तुभाउलाई पनि भने जति पानी दिन पाइन्नथ्यो । पानीको हन्डर धेरै खेपियो । अहिले बुढेसकालमा भने सारै सजिलो भएको छ । अबका सन्तानलाई पानीको हन्डर भोग्नुपरेन ।”

पूर्वस्मरण गर्दै ७६ वर्षीय क्षेत्रबहादुर भुजेलले भन्नुभयो, “बर्खामा कता पानी उम्रियो भनेर खोजेर कुवा बनाएर धमिलै भए पनि पानी पिउनुपर्ने बाध्यता हटेको छ । हिउँदमा कुवा सुकेपछि दुई घण्टा पैदल हिँडेर पानी बोकेर ल्याउनुपर्ने समस्या पनि टरेको छ ।”

सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाका अध्यक्ष राजु थापाका अनुसार व्यक्तिगत धारा २२ ९लाभान्वित ७४० जडान गरिएको छ । परियोजनामा वाटर एड नेपालको २२ लाख ७९ हजार ८६१ र उपभोक्ता जनश्रमदान तीन लाख ३९ हजार ३०२ गरी कुल २६ लाख १९ हजार १६३ रुपियाँ लगानी रहेको जानकारी दिँदै सीडीएफका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले भन्नुभयो, “जडित धारालाई दिगो र भरपर्दो बनाउन ३३ हजार रुपियाँको मर्मत कोषको व्यवस्था गरिएको छ । कोष वृद्धिका लागि धारामा राखिएको मिटरबाट कम्तीमा पनि प्रतिधारा प्रतिमहिना सय रुपियाँ सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button