
हेमराज विसीको डेब्यू निर्देशित फिल्म हो- ‘होस्टेल’ । लभस्टोरी जनरामा बनेको यो फिल्मले उनलाई नेपाली फिल्ममा एक सम्भावना बोकेको निर्देशकको रुपमा चिनायो । र, यही फिल्मबाट डेब्यू गरेका अभिनेता अनमोल केसीलाई रातारात ‘स्टार’ बनायो । यसपछि उनले अनमोललाई नै लिएर दुई फिल्म बनाए- ‘जेरी र गाजलु’ । दुबै फिल्म बक्सअफिसमा सफल ठहरिए ।
तर, जब अनमोलसँग उनको सहकार्य टुट्यो त्यसपछि उनी निर्देशित फिल्मले न दर्शक सन्तुष्ट बनाउन सके न बक्सअफिसमा पैसा छाप्न नै सफल भए । अभिनेता आशिरमान देशराज जोशीलाई लिएर उनलाई ‘ग्यांगस्टार ब्लूज र द ब्रेकअप’ बनाएका थिए । तर, दुबै फिल्म बक्सअफिसमा डिजास्टर सावित भए । अब, उनले कात्तिक ८ गते फिल्म ‘घामड शेरे’ लिएर आउँदैछन् ।
फिल्ममा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । यसअघि शहरिया युवापुस्ताको प्रेममा आउने उतार-चढावलाई फिल्ममा उतारेका निर्देशक विसीले यो फिल्ममा कथा भन्न गाउँ पसेका छन् । वर्षौ विदेशमा कमाएको पैसाले गाउँमै खेतीपाती गर्ने योजना बोकेर गाउँ फर्किएको एक युवकको जीवनमा आउने उतार-चढावको कथामा फिल्म बुनिएको छ ।
आफ्नो जनराभन्दा बाहिरको फिल्म गरेका निर्देशक विसी ‘घामड शेरे’ ले समाज र सिस्टमप्रति व्यंग्य गर्ने बताउँछन् । ‘हाम्रो समाजमा जिद्धि, एकसुरे, अरुले भनेको नसुन्ने र नटेर्ने व्यक्तिलाई घामड भन्ने गरिन्छ । फिल्ममा निश्चलले निभाएको पात्र पनि त्यही प्रकारको छ । उसले जे गर्छ त्यो समाजका लागि घामड लाग्छ’, उनी अगाडि भन्छन्, ‘समाज र सिस्टमप्रति सटायर हो फिल्म ।’
‘घामड शेरे’ छायांकन भएको स्थान सुर्खेतमा एक व्यक्तिले आफूले किनेको खेत खोलालाई बगाएपछि खोलालाई नै मुद्धा हालेको कहावतबाट फिल्मको कथाको जन्म भएको निर्देशक विसी बताउँछन् । ‘सुर्खेततिर यो जोक्स निकै चर्चित छ । धेरैले यसलाई सत्य पनि मान्छन् । तर, कसैलाई यसको वास्तविकता भने थाहा छैन । मलाई फिल्मको आइडिया त्यहीँबाट आएको हो’, उनले भने ।
उनी फिल्ममा निश्चल र स्वस्तिमा कथाको माग रहेको बताउँछन् । फिल्ममा सबैभन्दा अगाडि निश्चल अनुबन्ध भएका थिए । फिल्मको स्क्रिप्ट लक भएपछि निर्देशक विसीले निश्चललाई अभिनेत्रीमा स्वस्तिमाको नाम सिफारिस गरे । निश्चल कुनै आपत्ति नजनाएपछि निर्देशक विसीले स्वस्तिमालाई फिल्म अप्रोच गरे । तर, स्वस्तिमाले आफू फिट नहुने भन्दै अर्कै अभिनेत्रीको नाम सिफारिस गरिन् ।
निर्देशक विसी भन्छन्, ‘जब मैले स्वस्तिमालाई फिल्मको कथा सुनाएँ तब उसले यो भूमिकामा म फिट हुँदिन अर्कै अभिनेत्री राख्नुस् भनेकी थिइन् । उनले केही अभिनेत्रीको नाम पनि सिफारिस गरेकी थिइन् । तर, मैले फिल्ममा निश्चलको सालीको भूमिकामा स्वस्तिमामा बाहेक अरु सोचेको थिइनँ । बल्ल बल्ल उसलाई कन्भिन्स गराएँ ।’ अभिनेत्री स्वस्तिमाले पनि उनको कुरामा सहमति जनाइन् ।
‘घामड शेरे’ को मूलकथा निश्चलको वरिपरि घुमेको छ । उनले फिल्ममा विदेशबाट फर्किएको एक युवकको भूमिका निभाएका छन् । सुष्मा निरौलाले फिल्ममा निश्चलको श्रीमतीको भूमिका निभाएकी छन् । सिमोस सुनुवार निर्माता र नरेन्द्र विक्रम बुद्ध क्षेत्री कार्यकारी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको फिल्ममा संगीत छ ।flimykhabaronline



