
मेचीनगर ः नेपाली काँग्रेसले आफु सत्तामा भएका बखत कवाडीको मोलमा बेचेको देशका ठूला कलकारखानाहरुको हिसाव किताव अब खोज्ने बेला आएको पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेलले लगाएकाछन ।
शुक्रबार झापाको मेचीनगर—६ काँकरभिट्टामा नेकपा एमाले—६ नम्बर वडा नर्विाचन परिचालन कमिटीले आयोजना गरेको उम्मेदवारसँग भेटघाट कार्यक्रममा बोल्दैं ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेकातर्फबाट झापा १ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका खरेलले नेपाली काँग्रेसका कारण देशका ठूला कलकारखाना बेचिएको र युवाहरू विदेशिन बाध्य भएको आरोप लगाए ।
नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको पूर्व महान्याधिवक्ता समेत रहनु भएका खरेलले बताए । २०४८ सालमा नेपाली काँग्रेसको बहुमतको सरकार रहेको समरण गराउदैं ‘हरिसिद्धि इँटा टायल कारखाना कहाँ छ ? भृकुटी कागज कलकारखानादेखि बालाजु कपडा कारखाना कस्ले बेच्यो ? बाँसबारी छालाजुत्ता कारखानामा सौदाबाजी कस्ले गरयो ? जनकपुर चुरोट कारखाना किन बेच्नु पर्यो अहिले कहाँ छ ?’नेता खरेलले प्रश्न गदैं उनले—‘अब यसको हिसावकिताव सवै नेपाली जनताले खोज्ने छन् । नेपाली काँग्रेस सत्तामा रहँदा विकास निर्माणका आयोजनाहरूको चरम दोहन गरेको छ ।’ वीरगञ्ज, सर्लाही चिनी कारखाना समेत नेपाली काँग्रेसले बेचेको नेपाली जनताले नविर्सेको नेता खरेलको भनाई थियो ।
भृकुटी कागज कारखाना २०४९ साल कात्तिक ५ गते बिक्री गर्दा सरकारको को थियो प्रश्न थियो । दर्शकदीर्घाबाट जवाफ आयो नेपाली काँग्रेस । हरिसिद्धि इँटा टायल कारखाना कात्तिक १४ गते २०४९ सालमा ‘२०४९ साल कात्तिक २४ गते बाँसबारी छालाजुत्ता कारखाना सौदाबाजीमा परेको बालाजु कपडा उद्योग २०५० सालमा पनि काँग्रेसले नै बेचेको नेता खरेलले दाबी गरे ।
अब नेपाली जनताले काँग्रेसका पालामा बेचिएका उद्योगधन्दा पुनःस्थापना गराएरै छाड्ने र निर्वाचनका क्रममा भोट माग्न आउने नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुलाई नेपाली जनताले देशका ठूला कलकारखानाहरु खोई भनेर प्रश्न गर्नपर्ने बताए ।



