
एजेन्सी – अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा पाकिस्तानले सुरुवाती दुई खेल गुमाएपछि सेमिफाइनल समिकरण कठिन बनेको छ । पाकिस्तान भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित भएपछि सोझै सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको हो ।
तर पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना भने त्यतिनै छ । त्यसको लागि पाकिस्तानले पहिला बाँकी तीनै खेल जित्नु पर्ने हुन्छ । त्यसपछि पाकिस्तानले भारतको साथ लिनु पर्ने हुन्छ । पाकिस्तान ६ अंकका साथ सेमिफाइनल खेल्ने आशामा छ । तर पाकिस्तानले सबै खेल जितेर मात्रै हुँदैन । भारत र दक्षिण अफ्रिकाको नतिजा पनि आफू अनुकूल आउनु पर्छ ।
यसरी सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान
पाकिस्तान सेमिफाइनलमा पुग्न बाँकी तीनै खेल जित्नुपर्छ । जसले गर्दा पाकिस्तानको ६ अंक हुनेछ । पाकिस्तानले अव आइतबार नेदरल्यान्ड्स, बिहीबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्नेछ । एक खेलमा पराजित वा अंक बाँड्दा भने पाकिस्तान बाहिरिनु पर्छ । तर यी तीन खेल जितेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजा पनि आफु अनुकूल आउनुपर्छ ।
पाकिस्तान सेमिफाइनलमा पुग्न आफुसँगै भारतले बाँकी तीनै खेल जित्नु पर्छ । भारतले आइतबार दक्षिण अफ्रिका, बुधबार बंगलादेश र आइतबार जिम्बावेसँग खेल्नेछ । पाकिस्तान र भारतले बाँकी तीनै खेल जित्दा अन्य टोली ६ अंकमा पुग्न सक्दैनन् । भारत १० अंक र पाकिस्तान ६ अंकका साथ सेमिफाइनल खेल्न सक्छन् ।
बंगलादेशले अव भारत, पाकिस्तान र जिम्बावेसँग खेल्न बाँकी छ । बंगलादेशको हाल २ खेलमा २ अंक छ । यो हुँदा बंगलादेशले जिम्बावेलाई हराउँदा पाकिस्तानलाई अझ फाइदा हुनेछ । भारत र पाकिस्तानसँग पराजित हुँदा र जिम्बावेलाई हराउँदा बंगलादेशको ४ अंक मात्रै हुनेछ ।
दक्षिण अफ्रिकाको २ खेलमा ३ अंक छ । यदि भारत र पाकिस्तानसँग पराजित भएमा दक्षिण अफ्रिका ५ अंकमै रोकिन सक्छ । किनभने दक्षिण अफ्रिकाले भारत, पाकिस्तान र नेदरल्यान्ड्सँग खेल्न बाँकी छ । नेदरल्यान्ड्स तुलनात्मक रुपमा कमजोर टोली हुँदा जित पक्कापक्की छ ।
त्यसैले पाकिस्तान सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिकाले भारत र पाकिस्तान दुबैसँग हार्नुपर्ने हुन्छ । यदि दक्षिण अफ्रिकाले भारतलाई हराए वा अंक बाँडेपनि पाकिस्तान बाहिरिनेछ । किनभने दक्षिण अफ्रिकाको नेटरनरेट प्लस ५.२०० छ । सोझो अर्थमा पाकिस्तान सेमिफाइनलमा पुग्न भारत र पाकिस्तान दुबैले दक्षिण अफ्रिकालाई हराउनै पर्छ । वा दक्षिण अफ्रिकाले तीन मध्य दुई खेल हार्नैपर्ने हुन्छ ।
अंक तालिका
सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा १ मा जितसहित ३ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ दोस्रो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ ।
अष्ट्रेलिया ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पुछारमा छ ।
सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ । जिम्बावे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।हाम्रो खेलकुदबाट ।



