खबर

जोगी गाउँका स्थानीय भन्छन्– विश्वप्रकाशले पानी दिए, अब भोट दिन्छौं

बर्ने । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा त्यति नै धेरै उम्मेदवार मतदाताको घर–घरमा पुगेर बुढापाकाको आशिर्वाद तथा युवाको साथ अनि सहयोगसँगै भोट माग्न व्यस्त छन् ।
झापा क्षेत्र नं १ मा गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बू जोगी गाउँमा मत माग्न पुग्दा स्थानीयहरु हातमा फूल बोकेर नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्मालाई भेट्न आतुर देखिन्थे ।
उनीहरु भन्दै थिए “यसअघिका दुवै निर्वाचनमा उपविजेता भए पनि शर्माले हामीलाई घर–घरमा पानी ल्याइदिएर ठूलो गुन लगाउनु भएको छ, हामीलाई तपाईंले पानी दिनुभयो अब हामी तपाईंलाई भोट दिन्छौँ ।’
जोगीडाँडा चतुरेबर खानेपानी संस्थाका संस्थापक अध्यक्ष दिपेश थेबेका अनुसार यसअघि जितेर गएका सांसदलाई बारम्बार खानेपानीको समस्या राख्दा पनि आश्वासन मात्र आएको तर दुई पल्ट हारेका विश्वप्रकाशकै पहलमा स्थानीयले शुद्ध खानेपानी पिउन पाएको बताए ।
टाढा–टाढासम्म गएर पानी ल्याउनु पर्ने बाध्यता थियो तर विश्वप्रकाशको पहलमा पानी आएसँगै आफूहरुलाई धेरै सहज भएको स्थानीय गोविन्द नारायण प्रधानले बताए ।
स्थानीयको गुनासो सुन्दै धाराको पानी पिउँदै शर्माले जोगीडाँडा चतुरेबर खानेपानी संस्थालाई अझ व्यवस्थित बनाउन आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी स्थानीय १०२ वर्ष वृद्ध भवनाथ गौतमले गठबन्धनका उम्मेदवार विश्वप्रकाशलाई आशिर्वाद दिँदै भने, ‘यो भन्दा अगाडि थुप्रैलाई जिताएर सांसद बनाइयो तर भोट माग्न आएको दिनपछि कुनै दिन गाउँमा फर्केर आएनन् जसका कारण गाउँको समस्या जस्ताको त्यस्तै छ तर तपाईंबाट केही आशा गरेका छौँ ।’
हरेक युवादेखि वुद्धसम्मका लोकप्रिय छवि बनाएका विश्वप्रकाशको उम्मेदवारीले अझै बढी हौसला मिलेको र उहाँलाई जिताउन कुनै कसर बाँकी नछाड्ने बुद्धशान्ति–४ काँग्रेसका सचिव दिपक शर्माले बताए ।
यसैबीच, झापा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बूले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । मंगलबार बिहान गठबन्धनका उम्मेदवारले बुद्धशान्ति वडा नं।७ मोदीडाँडाबाट सुरु गरेर धारागोला हुँदै वडा नं४ को चतुरेबर, खनीगोडा, पिपल चोक हुँदै हापेन चोकमा पुगेर सम्पन्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button