
बिर्तामोड । यही कात्तिक २१ गते विर्तामोडमा भएको ‘उम्मेद्वारसँगको अन्तरक्रिया कार्यक्रम’ को आयोजकमा सिके चिन्तन प्रतिष्ठानको नाम जोडिएकोप्रति प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईले आज एक प्रेसविज्ञप्ति जारी गर्दै प्रतिष्ठानलाई आधिकारिक रुपमा जानकारी नै नदिई एवं नेतृत्वको अनुमति नलिई कार्यक्रम गरिएको र उक्त अमर्यादित कार्यप्रति दुःख ब्यक्त गरेका छन् ।
प्रतिष्ठानको रेखदेख गर्दै आएका ब्यक्तिले प्रतिष्ठानका पदाधिकारी÷सदस्यलाई जानकारी नै नदिई उक्त कार्यक्रम गरिएकोप्रति दुःख ब्यक्त गर्दै विज्ञप्तिमा सम्बन्धित ब्यक्तिलाई सचेत गराउँदै जिम्मेवारीबाट हटाइएको समेत उल्लेख गरिएको छ ।
गत सोमबार स्थानीयस्तरमा गठित ‘माता मन्दिर युवा क्लव परिवार’को आयोजनामा झापा क्षेत्र नं–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार एवं क्षेत्र नं–२ प्रदेशसभा–२ का उम्मेद्वारहरुको अन्तरक्रिया आयोजना भएको थियो ।
‘यस क्षेत्रबाट उठेका उम्मेद्वारहरुका योजना के–के छन् सुनौ र मत दिने निर्णय गरौं भन्ने पवित्र उद्देश्य राखेर कार्यक्रम आयोजना गरेका थियौँ,’–आयोजक माता मन्दिर युवा परिवारका अध्यक्ष रोशन भेट्वालले भने–‘तर हामीले सोचेभन्दा विपरित भयो ।’
माता मन्दिर युवा क्लव परिवारका तर्फबाट एक प्रेस विज्ञप्तिसमेत जारी गर्दै अध्यक्ष भेटवालले उम्मेद्वार स्वागत नेपाललाई पटक–पटक समय छोट्याउन भनेपनि नमानेको र उनी पक्षीय कार्यकर्ताले नै हो–हल्ला गरेको उल्लेख गरेका छन् ।
‘त्यो दिन हरिकुमार रानाले कसैको माइक खोसेको होइन र बाहिर आएका समाचार र भिडियोमा जस्तो उहाँले बोल्न नदिएको र हातपात नगरेको स्पष्ट पार्न चाहन्छु’– विज्ञप्तिमा भनिएको छ– ‘साथै समाचारमा लेखिएजस्तो त्यो कार्यक्रम सि के चिन्तन प्रतिष्ठानले आयोजना गरेको नभई माता मन्दिर युवा क्लवले आयोजना गरेको कुरा स्पष्ट पार्न चाहन्छु ।’ समाचार प्रकाशन प्रशारण गर्दा आयोजक संस्थासँग बुझेर मात्रै सत्य तथ्य समाचार सम्प्रेषण गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
दलका कार्यकर्ता भन्दा पनि राजनीतिमा खासै नखुलेका स्थानीयको सहभागिता रहेको बताइन्छ । कार्यक्रममा हो–हल्ला भएपछि प्रहरीको उपस्थितिमा कार्यक्रमलाई नियन्त्रणमा लिइएको बताइएको छ ।



