
मेचीनगर । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आउन १० दिन बाँकी रहँदा गठबन्धन दलका उम्मेदवार थप उत्साहका साथ मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् ।
मतदान गर्ने दिन नजिकिँदै जाँदा मतदातासमेत गठबन्धनलाई भरोसा गर्न थालिसकेका छन् । उनीहरु आफ्ना समस्यालाई गठबन्धनले सम्बोधन गरे आफूहरुको पूर्ण सहयोग रहने उम्मेदवारलाई विश्वास दिलाइरहेका छन् ।
झापा क्षेत्र नम्बर १ मा रहेका मतदाताले शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र विकासका काममा लाग्न उम्मेदवारलाई सुझाइरहेका छन् । बिहीबार प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विश्वप्रकाश शर्मा र प्रदेश ‘क’ का उम्मेदवार गोपाल तामाङ मेचीनगर–५ स्थित सामुदायिक पोस्ट हार्भेस्ट पुग्दा स्थानीयको उल्लेख्य उपस्थित रहेको थियो ।
घरदैलो कार्यक्रम सुरु हुनुपूर्व आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका शर्माले गठबन्धन दल र एमालेसहितका मतदाताको विश्वास र आशिर्वादले भारी मतका साथ विजयी हुने विश्वास व्यक्त गरे । ‘आफूहरु निर्वाचित भएपछि पहिलो माला जेष्ठ नागरिकलाई लगाउनेछौँ,’ शर्माले भने, ‘जेष्ठ नागरिक हाम्रा अभिभावक हुन् । पहिलो सम्मान हामी अभिभावकलाई गर्छौं ।’
सो अवसरमा प्रदेश ‘क’ का उम्मेदवार गोपाल तामाङले आफू सामाजिक क्षेत्रमा लामो समय क्रियाशील रहेको बताए । उनले आफूहरु यस क्षेत्रको विकास गर्न आतुर रहेकाले विश्वासका साथ मत दिन आग्रह गरे । घरदैलो अभियान श्रमिक टोल, शान्ति टोल, सहकारी र शिवालय टोलमा सञ्चालन भएको हो ।
त्यसैगरी, बिहीबार नै मेचीनगरको वडा नम्बर–२ स्थित संगम चोक, जोगी डाँडा, मगर डाँडालगायतका क्षेत्रमा घरदैलो गरिएको छ । वडा नम्बर–३ स्थित दोकान डाँडा, हात्तीसुँडे, बडाखाल लगायतका क्षेत्रमा घरदैलो अभियान सम्पन्न भएको हो ।
घरदैलो अभियानमा उम्मेदवारसहित सम्बन्धित वडाका वडा सभापति नगर तथा क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो मेचीनगर–५ को घरदैलो अभियानमा नेपाली काँग्रेस प्रदेश ‘क’ का सभापति हरि बुढाथोकी, क्षेत्रीय सह–सचिव दीपक काफ्ले, नगर उपसभापति योगेन्द्र थापा, वडा सभापति नारायण खड्कालगायत नगर तथा क्षेत्र र वडाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यस्तै, गठबन्धनदलका उम्मेदवारहरुले मेचीनगर–८ का विभिन्न टोलमा पुगेर मतदातालाई भेटेका छन् । मतदातकाका समस्या सुन्न र मत माग्न पुगेका झापा–१ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्मालाई मतदाताले ठाउँ–ठाउँमा अविर र माला पहिर्याएर जीतको लागि शुभकामना दिएका छन् ।
शर्माले नेपाली काँग्रेसको नीति निर्माण तहमा बसेर आपूm काम गरिरहेकाले अब आफ्नो ठाउँ बनाउने अभियानमा अघि बढेको र आगामी दिनमा देशको प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य रहेको उनले मतदातालाई बताउँदै आएका छन् ।
शर्मा मतदाताको घर–घर पुग्दा जेष्ठ नागरिकदेखि युवाहरु उत्साहित बनेका थिए । घरदैलो अभियानमा प्रदेश‘क’ उम्मेद्वार गोपाल तामाङले मतदाताले दिएका मतको उच्च मूल्यांकन गर्दै विकास निर्माण अभियानमा लागि पर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।



