
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सर्वियाले सानदार जित दर्ता गरेको छ । सर्वियाले घरेलु टोली बहराइनमाथि ५–१ को फराकिलो जित निकालेको हो ।
सर्वियाको जितमा डुसान टाडिचले दुई तथा डुसान भ्लाहोभिच, फिलिप जुरुसिस र लुका जोभिचले समान एक गोल गरे । बहराइनका अब्दुल्लाह युसुफ हेलालले एक गोल फर्काए ।
शेख अलि विन मोहम्मेद अल खालिफा रंगशालामा शुक्रबार राति भएको खेलको आठौं मिनेटमा डुसान टाडिचको गोलबाट सर्वियाले अग्रता लिएको थियो । १५औं मिनेटमा हेलालले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५०औं मिनेटमा डुसान टाडिचले डुसान भ्लाहोभिचको पासमा व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गरेपछि सर्विया खेलमा २–१ ले अघि बढ्यो । त्यसको एक मिनेटपछि डुसान भ्लाहोभिचले गोल गर्दै सर्वियालाई ३–१ ले अघि बढाए ।
८७औं मिनेटमा फिलिप जुरुसिसले मार्काे ग्रुजिसको पासमा गोल गर्दै सर्वियालाई फराकिलो जिततर्फ अग्रसर गराए । ९०औं मिनेटमा लुका जोभिचले डुसान भ्लाहोभिचको पासमा गोल गर्दै सर्वियालाई ५–१ को सानदार जित दिलाए ।
यस जितसँगै सर्वियाले विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । समूह ‘जी’ मा रहेको सर्वियाले २४ नोभेम्वरमा ब्राजिल, २८ नोभेम्वरमा क्यामरुन र २ डिसेम्वरमा स्वीट्जरल्यान्डसँग खेल्नेछ ।हाम्रो खेलकुदबाट ।



