मेचीनगर – झापाको बाह्रदशी गाउँपालिका वडा नं ६ स्थित बाह्रदशी डाँडामा शनिबार दिउँसो ट्याक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।
चारपाने राजगढ पक्की सडकको भित्री खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र—१—०१—००१ त ८९५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय चार वर्षीय बालक फणिन्द्र खातीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक पार गर्न लाग्दा बालकलाई ट्याक्टरले ठक्कर दिएको र बालकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।
घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका घर भएका विवेक लिम्बूलाई नियन्त्रणमा लिएको छ ।



