मूल खबर

महन्त जगन्नाथलाई थुनामा राख्न आदेश

काठमाडौँ
विभिन्न मठमन्दिरका जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। रूपन्देही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले जगन्नाथलाई थुनामा राख्ने आदेश दिएको हो।

जिल्ला प्रशासन कार्यालयले रोक्का राखेको ७१ लाख रूपैयाँ किर्ते गरी झिकेको आरोपमा महन्तलाई महोत्तरीको लक्ष्मीनारायण मठबाट पुसको पहिलो साता पक्राउ गरेर अदालतमा मुद्दा दायर गरिएको थियो। जगन्नाथले मेगा बैंक रूपन्देहीमा रोक्का रहेको रकम निकाल्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीको नक्कली लेटप्याड, छाप, फेक चलानी नम्बर र सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर पनि नक्कली प्रयोग गरेपछि किर्तेविरुद्धमा मुद्दा परेको थियो।

महन्थले रूपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट किर्ते गरेर रकम निकालेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो। जगन्नाथले रूपन्देहीको सिद्धार्थ नगरपालिका–६ मा रहेको मठको जमिन बिक्री गरेका थिए। महन्तले उक्त जमिन सिद्धार्थनगर–१० का उदयमान पाण्डे र सञ्जयप्रसाद पाण्डेलाई बिक्री गरेका थिए। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गठन गरेको छानबिन समितिले सिद्धार्थनगर–६, भैयाटोलमा रहेको लक्ष्मीनारायण मठको कित्ता नम्बर १६५ को तीन कठ्ठा पाँच धुर बिक्री गरेको सबुद प्रमाण भेटिएपछि महन्तको नाममा रहेको प्रशासनले खाता रोक्का गरेको थियो।

मन्दिरको जग्गाजमिन र पैसा हिनामिना गरे पछि रोक्का राखेको रकम नक्कली सरकारी कागजात प्रयोग गरेर निकालेको पाइएपछि मुद्दा चलाएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ।

सरकारी कागजात दुरूपयोग र नक्कली हस्ताक्षर गरेकाले मुद्दा दायर गरेको प्रशासलने जनाएको छ। महन्तमाथि मन्दिरको नाममा रहेको जग्गा बेच्ने गरेको समेत उजुरी छ। जगन्नाथले सरकारी जग्गा बिक्री गरेर दुरूपयोग गरेको आरोप लाग्दै आएको थियो। महन्तले जग्गा बिक्री गरेको आरोपमा बर्खास्त गरेको भए पनि अदालतले पुनर्वहाली गरेको भए पनि अन्तिम फैसला भएको छैन। रूपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको जमिन बिक्री गरेर हिनामिना गरेको आरोप जगन्नाथमाथि छ। जगन्नाथले सिद्धार्थनगरको एक कित्ता र रूपन्देहीकै सियारी गाउँपालिका– ३ (साबिक हर्नैया गाविस–९) को १० कित्ता गरी ११ कित्ता जमिन बिक्री गरेको आरोप छ। त्यसैगरी, जनकपुर उपमहानगरपालिका–८ धनुषामा रहेको रामजानकी मन्दिरको करिब पाँच बिघा जग्गा पनि विभिन्न व्यक्तिलाई बिक्री गरेको आरोप लाग्दै आएको छ।

महन्तले जग्गा बिक्री गरेको थाहा पाए पछि गुठी संस्थानले १० जिल्लाका मालपोत तथा भूमि सुधार कार्यालयलाई पत्राचार गरी महन्त जगन्नाथका नाममा रहेको जमिन बिक्री गर्न रोक लगाएको थियो। लक्ष्मीनारायण मठमटिहानीअन्तर्गत महोत्तरी, धनुषा, रूपन्देही, सिरहा, बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासीमा रहेको जमिन बिक्री गर्न रोक लगाएको थियो।नागरिक दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button